
News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षाका कारण आएको पहिरोले काठमाडौं उपत्यकामा तरकारी र फलफूल आपूर्ति प्रभावित हुँदा मूल्यमा वृद्धि भएको छ।
- कालीमाटी बजारमा ९ दिनमा गोलभेँडा, काँक्रो, प्याज लगायत तरकारीको मूल्य १७ देखि ७२ प्रतिशतसम्म बढेको छ।
- वाणिज्य विभागले दशैंमा बजार अनुगमन गरेको भए पनि उपभोक्ता अधिकारकर्मीले मूल्यवृद्धि भएको र अनुगमन सतही भएको बताएका छन्।
९ असोज, काठमाडौं । यसपालि दशैं उपभोक्ताका लागि खासै रमाइलो हुने देखिँदैन । मुलुकका प्रमुख राजमार्गमा लगातार गइरहेको पहिरो र भदौ अन्तिम साताको जेनजी आन्दोलनले उपभोक्ताको भान्सामा महँगी छिरिसकेको छ ।
वर्षाका कारण आएको पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा पर्याप्त मात्रामा तरकारी, खाद्यान्न र फलफूल लगायत सामग्री भित्रिन सकेको छैन । यसको प्रत्यक्ष प्रभाव मूल्यमा परेको छ र भार उपभोक्तामाथि थपिएको छ ।
विशेषगरी काठमाडौं भित्रिने प्रमुख नाका नागढुंगा-नारायणगढ सडकखण्डमा धादिङ जवाङखोला र चितवन तुइन खोलामा गएका पहिरोका कारण तरकारी ढुवानीमा कठिनाइ आएपछि मूल्य बढेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस सिजनमा दैनिक औसत ७ सय टन तरकारी भित्रिनुपर्नेमा अहिले १ सय ८० टन मात्रै आइरहेको छ ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार मुख्य नाका अवरुद्ध हुँदा अन्य नाकाबाट तरकारी भित्रिए पनि सहज आपूर्ति हुन सकेको छैन । त्यसको प्रभाव थोक मूल्यमा नै परेको छ ।
के छ मूल्यवृद्धिको अवस्था ?
१ देखि ९ भदौसम्मको तथ्यांक केलाउँदा सबैभन्दा धेरै गोलभेँडा सानो (लोकल) र गोलभेँडा सानो भारतीयको क्रमश: ७२.८० देखि ७२.९६ प्रतिशत भाउ बढेको छ । १ असोजमा प्रतिकिलो २५ रुपैयाँ रहेको गोलभेँडा आजसम्म प्रतिकिलो औसतमा ४३ देखि ४४ रुपैयाँ पुगेको छ ।
काँक्रो (हाइब्रिड) को मूल्य ७१.२० प्रतिशतले बढेको छ । १ असोजमा प्रतिकिलो २४ रुपैयाँमा बिक्री भएको काँक्रो ९ असोजमा ४२.८० रुपैयाँ पुगेको छ । योसँगै प्याजको भाउ पनि बढेको छ । ९ दिनमा प्याज किलोमा औसत १७ प्रतिशत बढेको छ ।
१ भदौमा प्याजको प्रतिकिलो औसत मूल्य ३६ रुपैयाँ रहेकामा आजसम्म आइपुग्दा ४२ रुपैयाँ कायम छ । तथ्यांक अनुसार ९ दिनमा प्याजको प्रतिकिलो थोक मूल्य ६ देखि ७ रुपैयाँसम्म बढेको देखिन्छ ।
आलु, बन्दा, काउली, बोडी, घिउ सिमी, तिते करेला, लौका, हरियो फर्सी, भिन्डी लगायत सबैजसो हरियो तरकारीको मूल्य बढेको तथ्यांकले देखाउँछ ।
१ असोजमा प्रतिकिलो ९० रुपैयाँ पर्ने तने बोडीको मूल्य ९ असोजमा ५३ प्रतिशतले बढेर १ सय ३८ रुपैयाँ पुगेको छ । मकै बोडी प्रतिकिलो ८५ बाट बढेर १ सय ५ रुपैयाँ पुगेको छ । घिउ सिमी प्रतिकिलो ५२ प्रतिशत बढेको छ । १ असोजमा प्रतिकिलो ८५ रहेकामा आज १ सय ३० रुपैयाँ कायम छ ।
प्रतिकिलो २५ रुपैयाँ पर्ने हरियो फर्सी (लाम्चो) को मूल्य बिहीबार (असोज ९) ५९ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ । यस्तै ६५ रुपैयाँ पर्ने भिन्डी ८४ रुपैयाँ पुगेको छ । च्याउ (कन्य) को मूल्य १० प्रतिशतले बढेर १ सय ८४, ब्रोकाउली २१ प्रतिशत बढेर १ सय ८२ रुपैयाँ पुगेको तथ्यांकले देखाउँछ । यस्तै रातो आलुको मूल्य पनि बढेको छ ।
आपूर्ति अवस्था
सूचना अधिकारी श्रेष्ठले दिएको जानकारी अनुसार बिहीबार बिहान १ सय ८४ टन हरियो तरकारी मात्रै भित्रिएको छ भने फलफूल, माछासहित कुल ३ सय २३ टन मात्रै भित्रियो । बुधबार पनि ताजा तरकारी ३ सय ६३ टन र कुल ४ सय ८९ टन भित्रिएको थियो ।
अधिकांश तरकारी तराईबाट मात्रै नभई धादिङ, काभ्रे र मकवानपुर लगायत जिल्लाबाट आइरहेको श्रेष्ठले बताए । यद्यपि, पृथ्वी राजमार्ग हुँदै आउने तराईका जिल्ला र भारतबाट आउने तरकारी आपूर्ति भने प्रभावित भएको उनले बताए ।
आलु र प्याजका हकमा बजारमा स्टक पर्याप्त रहेको र अभावको स्थिति नभएको श्रेष्ठले बताए । उनका अनुसार धादिङ, पालुङ र मुडे लगायत ठाउँबाट आलु आइरहेको छ भने भारतबाट आउने आलुमा मात्रै सामान्य प्रभाव परेको छ । प्याज पनि बजारमा स्टकमा रहेको उनले जानकारी दिए ।
खुद्रा मूल्यमा केही वृद्धि देखिएको स्वीकार गर्दै श्रेष्ठले प्याजमा २–४ रुपैयाँसम्म मूल्य बढ्न सक्ने बताए । तर, यो अभाव भएर आकासिएको अवस्था नभएको उनले स्पष्ट पारे ।
‘सामान्यतया, ताजा तरकारीमा ५-१० रुपैयाँसम्म तलमाथि हुनु स्वाभाविक हो,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘अहिले बजारमा कुनै पनि वस्तुमा अभाव भएर मूल्य अत्यधिक बढेको अवस्था छैन ।’
बाटो बन्द भएर तरकारी आपूर्तिमा समस्या आएको भन्ने कुरालाई खण्डन गर्दै उनले मौसमी तरकारी सबै किसिमका आइरहेको जानकारी दिए । सडक खुल्नासाथ अवस्था सामान्य हुने र कतिपय अवस्थामा मूल्य घट्न पनि सक्ने उनले बताए ।
बाटोमै कुहियो फलफूल
नेपाल फलफूल थोक व्यवसायी संघ अध्यक्ष अमर बानियाँले बजारमा अहिले फलफूलको मूल्य नबढेको दाबी गरे । उनले बाटोघाटोको समस्याका कारण फलफूल आपूर्ति प्रभावित भएको र व्यापारीहरू ठूलो नोक्सानीमा रहेको बताए ।
बानियाँका अनुसार हाल फलफूल बिक्रीमा सुस्तता आएको छ । बाटोघाटोमा आएका समस्याका कारण आएका फलफूल बिग्रिएर वा सडेर आएकाले राम्रो बजार भाउ पाउन सकेका छैनन् । यसले गर्दा व्यापारीहरू निकै मर्कामा छन् ।
‘बाटोमै बिग्रिन लागेका फलफूल सस्तोमा बेचेर सिध्याउनु पर्ने अवस्था छ,’ उनले भने, ‘चीनबाट स्याउ नआउँदा भारतीय स्याउले मात्रै बजार धानेको अवस्था छ, तर पनि बिक्री नभएर स्याउ स्टक राख्नुपर्ने अवस्था आएको छ ।’
उनले राम्रो गुणस्तरको फलफूल नआएको र बिग्रिएका फलफूलका कारण मूल्य बढाउने हिम्मत कसैलाई नभएको उल्लेख गरे ।
यातायात समस्याबारे बानियाँले तातोपानी नाकामा फलफूल बोकेका गाडीहरू रोकिएका कारण समयमै बजारमा पुग्न नसकेको बताए । बाटो खुल्दा पनि दिनमा सीमित गाडीहरू मात्रै छाड्ने गरिएको उनको भनाइ छ ।
उनका अनुसार चीनबाट स्याउ खासै आएको छैन र भारत तथा नेपाली उत्पादनको स्याउ पनि बिक्री हुन सकेको छैन । भारतीय स्याउ नारायणगढबाट साना गाडीमा पोखरा हुँदै आउने र कहिलेकाहीँ नेपाली गाडीमा पल्टी गरेर ल्याउँदा खर्च बढेको छ । फुजी स्याउको मूल्य पनि नबढेको र प्रतिस्पर्धाका कारण ठूलो नाफा राखेर बेच्ने अवस्था नभएको उनले बताए ।
कालीमाटी बजारको तथ्यांकले ९ दिन अवधिमा फुजी स्याउको मूल्य प्रतिकिलो १५ प्रतिशतले घटेको देखाएको छ । १ असोजमा प्रतिकिलो ३ सय २० रुपैयाँमा कारोबार भएको फुजी स्याउ ९ असोजमा २ सय ७२ रुपैयाँ कायम छ ।
खुद्रा मूल्य र बिचौलियाको भूमिका
माथि उल्लेख गरिएका सबै मूल्य कालीमाटी तरकारी बजारको थोक मूल्य हो । तर, खुद्रा बजारमा यी वस्तु दोब्बर, तेब्बर मूल्यमा बिक्री हुने गरेको छ । तर, नियामक निकायले यसको अनुगमन तथा नियमन गरेको दाबी गरिरहे पनि त्यसको प्रभाव पर्न सकेको छैन ।
थोक मूल्यमा भएको यो वृद्धिले खुद्रा बजारमा तरकारीको मूल्य अझै आकासिएको छ । पसलैपिच्छे फरक–फरक मूल्य निर्धारण हुने गरेको उपभोक्ताको गुनासो छ । बिचौलिया हाबी हुँदा मूल्य आफूखुसी निर्धारण हुने गरेको छ । यसले उपभोक्तामाथि थप भार परेको छ ।
‘खाद्यान्नको मूल्य बढेको छैन, खानेतेलको बढ्यो’
चाडपर्वका बेला खानेतेल खपत वृद्धि भएसँगै बजारमा माग बढेको र यसैकारण व्यवसायीहरूले मूल्य बढाएको पाइएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार तोरी तेलको मूल्यमा प्रतिलिटर २५ रुपैयाँसम्म वृद्धि भएको छ, जबकि अन्य खाद्यान्नको मूल्यमा खासै परिवर्तन आएको छैन ।
संघले उपलब्ध गराएको तथ्यांक अनुसार १५ साउनमा प्रतिलिटर ३ सय ३५ रुपैयाँ रहेको काँचो तोरी तेलको मूल्य २५ रुपैयाँले बढेर १ असोजदेखि ३ सय ६० रुपैयाँ पुगेको छ ।
यस्तै अन्य खानेतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि भएको छ । १५ साउनमा प्रतिलिटर २ सय ५० रुपैयाँ रहेको अन्य तेलको मूल्य १ असोजदेखि २ सय ६० रुपैयाँ पुगेको संघले जनाएको छ ।
व्यापारीहरू भने भारतको नीतिका कारण काँचो तोरी तेलको मूल्य प्रतिलिटर २५ रुपैयाँ र अन्य तेलको मूल्य १० रुपैयाँसम्म बढेको बताउँछन् ।
संघ महासचिव अमुलकाजी तुलाधरले राजमार्ग अवरोधका कारण खाद्यान्न ढुवानी प्रभावित भए पनि अभाव नहुने र मूल्यवृद्धि पनि नहुने बताए ।
सरकारले विगतमा काठमाडौंमा ६ महिनासम्म सडक अवरुद्ध भए पनि खाद्यान्न अभाव नहुने भनी आश्वासन दिने गरेको स्मरण गर्दै उनले हालै बनेको नयाँ सरकारबाट भने त्यस्ता कार्यक्रम खासै नदेखिएको बताए ।
उनले केही व्यापारीले सडक बन्द हुने सम्भावनाको मात्रै आधारमा मूल्यवृद्धि गर्ने प्रवृत्ति रहेको भन्दै यसमा अनुगमन आवश्यक रहेकोमा जोड दिए । यसका लागि वाणिज्य विभाग सक्रिय हुनुपर्ने उनको भनाइ छ ।
एक–दुई महिनाका लागि नेपालमा खाद्यान्न अभाव नहुने गरी स्टक रहेको तुलाधरले बताए ।
नेपाल चामल तेल दाल उद्योग संघले पनि खाद्यान्नको मूल्य नबढेको जनाएको छ । संघका सदस्य विभोर अग्रवालले दाल, चामलको मूल्यमा खासै वृद्धि नभएको बताए । अग्रवालका अनुसार चामलको मूल्यमा सामान्य गिरावट आएको छ ।
सोयाबिन र सनफ्लावर तेलजस्ता ‘इडिबल’ तेलहरूको मूल्य भने बढेको उनले बताए । यसको मुख्य कारण भारततर्फ यी तेल निर्यात बढ्दा नेपालमा बिक्री हुनबाट रोकिएको हुन सक्ने उनको भनाइ छ ।
अग्रवालले उद्योगहरूमा खाद्यान्नको पर्याप्त मौज्दात रहेको र चाडबाडका लागि आपूर्तिमा कुनै समस्या नहुने बताए ।
‘मूल्यवृद्धिमा ठूलो समस्या छैन, सामान्य त्रुटिमा कारबाही’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैंलक्षित बजार अनुगमन तीव्र पारेको जनाएको छ । विभागका सूचना अधिकारी भरत आचार्यका अनुसार दशैंको समयमा ६ वटा अनुगमन टोली परिचालन गरिएको छ । यी टोलीले दैनिक उपभोग्य वस्तु र फेन्सी कपडा पसललाई मुख्य रूपमा लक्षित गरेको जनाएको छ ।
मूल्यवृद्धिका विषयमा आचार्यले अनुगमन क्रममा त्यस्तो ठूलो समस्या नदेखिएको दाबी गरे । ‘मूल्यवृद्धि त्यस्तो देखिएको छैन अहिलेसमम्म,’ उनले भने, ‘ठूला र गम्भीर खालका त्रुटि भेटिएको छैन । अनुगमन क्रममा जरिबाना पनि गराइएको छ ।’
विभागले ठूलो जरिबाना नगरेको र सचेतनामूलक खालको कारबाहीमा जोड दिएको आचार्यले स्पष्ट पारे ।
विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग पनि सहकार्य गरिरहेको जनाएको छ ।
बजारमा मूल्यवृद्धि भएकै छ, अनुगमन सतही मात्रै : उपभोक्ता अधिकारकर्मी
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले वाणिज्य विभागले बजारमा मूल्यवृद्धि नभएको भनी गरेको दाबीलाई अस्वीकार गरेका छन् ।
उनले विभागको अनुगमन सतही मात्रै भएको र नागरिकको वास्तविक अनुभूतिका आधारमा मूल्यवृद्धि भएकै जिकिर गरे ।
तिमल्सिनाले लत्ताकपडा, खाद्यान्न र विशेषगरी खानेतेलको मूल्य घट्नुको सट्टा बढेको बताए । उनले विभागको अनुगमन खुद्रा विक्रेतामा मात्र सीमित रहेको र मूल्य नियमन गर्ने प्रणाली नै सरकारसँग नरहेको आरोप लगाए ।
‘जनतालाई मूल्य नबढेको भनी ढाँटिएको छ,’ उनले भने, ‘दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी र सीमान्तकृत परिवारको भान्सामा मूल्यवृद्धिको असर स्पष्ट देखिन्छ ।’
राजमार्ग अवरोधले मूल्यमा प्रभाव, उपभोक्ता तीन किसिमले ठगिँदै
तिमल्सिनाले मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो गएका कारण गोदाममा रहेका वस्तुको समेत मूल्य बढाइएको बताए । उनले उपभोक्तालाई मूल्य, गुणस्तर र नापतौल गरी तीनवटै पक्षबाट ठगिएको दाबी गरे ।
‘मूल्य पनि घटेको छैन, गुणस्तर पनि सुध्रिएको छैन र वस्तुको नापतौल पनि ठिक छैन,’ उनले भने ।
तिमल्सिनाले चाडपर्व लक्षित अनुगमनको औचित्यमाथि प्रश्न उठाउँदै बजार अनुगमन वर्षभरि नै चौबिसै घण्टा, विशेष संयन्त्रमार्फत चुस्तदुरुस्त र पारदर्शी हुनुपर्ने बताए ।
प्रतिक्रिया 4