
२० माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३१ बेल्वाका अति विपन्न मुसहर माझी समुदायका ४२ घर परिवारलाई न्यानो ओढ्नेसहित खाद्यान्न वितरण गरिएको छ ।
१५ किलो चामल, १ लिटर खाने तेल, १ किलो मसुरको दाल, १ किलो चना, १ किलो रहरको दाल, २ थान साबुन, १ किलो नुन लगायतका सामग्री वितरण गरिएको जया साहले जानकारी दिए । ५३ हजार मूल्य बराबरको राहत सामग्री र १८ वटा कम्बल वितरण गरिएको उनको भनाइ छ ।
०७७ माघ ३ गते बेल्वास्थित दलित बस्तीका विपन्न परिवार चिसोबाट प्रभावित भएको बारेमा अनलाइनखबरमा ‘विपन्न बस्तीमा शीतलहर : परालको ओछ्यान, परालकै ओढ्ने‘ शिर्षकमा समाचार आएको थियो ।
समाचारमार्फत जानकारी पाएपछि युवालय र इम्प्रुभिङ लाइभ्स इन नेपालले चिसो प्रभावितलाई सहयोग गर्ने सोच अनुसार उनीहरुलाई सहयोग गरिएको युवालयका अध्यक्ष सन्तोष महर्जनले बताए । उनका अनुसार एक घर परिवारलाई १५ सय बराबरको खाद्यसामग्री प्रदान गरिएको हो ।
संस्थाले दिएको राहत वितरणका लागि वीरगञ्ज महानगरपालिकाकी नगर उपप्रमुख शान्ति कार्की दलित बस्ती पुगेकी थिइन् । यसअघि युवालयले कोभिड प्रभावित बलडिल्वा ५०, उदयपुरघुर्मीको ८८ विपन्न परिवारलाई ३ लाख रुपैयाँ बराबरको राहत वितरण गरिसकेको छ ।
प्रतिक्रिया 4