Comments Add Comment

लुम्बिनीमा सिमसार क्षेत्र संरक्षण अभियान

२० माघ, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा सिमसार क्षेत्र संरक्षण र विस्तार अभियान सुरु भएको छ । लुम्बिनी विकास कोषले संरक्षण गरेको ११ सय ५५ बिघा क्षेत्रमध्ये १ सय ५२ बिघा सिमसार क्षेत्र भएपनि त्यसको उचित संरक्षण हुन नसकेकाले संरक्षण अभियान थालिएको हो ।

सारसलगायत अन्य वन्यजन्तुको बासस्थान संरक्षण, पर्या–पर्यटन पूर्वाधारमार्फत लुम्बिनी घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने र वातावरण तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यले सिमसार क्षेत्र संरक्षण र विस्तार अभियान थालिएको कोषले जनाएको छ ।

हाल लुम्बिनीमा जंगल ४० प्रतिशत, घाँसे मैदान ५२ प्रतिशत, सडक तथा भवनहरु ६ प्रतिशत र सिमसार क्षेत्र २ प्रतिशत मात्र छ । सिमसार क्षेत्र संरक्षण र विस्तार गर्न विकास कोषले अमेरिकाको अन्तर्राष्ट्रिय क्रेन फाउण्डेसनलाई १५२ बिघा जग्गा ५० वर्षका लागि लिजमा दिएर सम्झौता गरिसकेको र लुम्बिनी सारस आरक्ष समेत स्थापना गरिएको कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।

६ सय बिघामा बोटानिकल गार्डेन

लुम्बिनी विकास कोषले सिमसार क्षेत्र संरक्षणसंगै लुम्बिनीमा बोटानिकल गार्डेन बनाउने योजना बनाएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

लुम्बिनीमा हालसम्म विभिन्न प्रजातिका ५ लाख बोट–बिरुवा रहेका र हरेक वर्ष १० हजारका दरले फलफूलजन्य बिरुवा रोप्ने अभियान निरन्तर रहेको उनले बताए । लुम्बिनीमा थप २५ हजार फलफूलका बिरुवा रोपेर गौतमबुद्ध फलफूल बाटिका बनाइने शाक्यले जानकारी दिए ।

संरक्षणकर्मीका नाममा ७ सिमसार ब्लक

लुम्बिनीको उत्तरतर्फ हाल एक दर्जन संख्यामा रहेका ताललाई संरक्षण गरी पर्यटक आकर्षित गर्न वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍याएका सात जना संरक्षणकर्मीहरुको नाममा सिमसार ब्लकहरुको नामाकरण थालनी गरिएको छ ।

विश्व सिमसार दिवसको अवसर पारेर मंगलबार जर्ज आर्किबल्ड, डा. हर्क गुरुङ, चन्द्र गुरुङ, मिङमा नोर्बु शेर्पा, हरिशरण नेपाली (काजी), डा. तीर्थमान मास्के र विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक घनश्याम गुरुङको नाममा ७ वटा सिमसार क्षेत्र नामाकरण र उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरी, विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्यले सात वटा सिमसार ब्लक उद्घाटन गरेका हुन् । भविष्यमा थप पाँच वटा सिमसार ब्लकको नामाकरण गरी संरक्षण गरिने राईले बताए ।

सो अवसरमा बोल्दै मन्त्री गिरीले सिमसार क्षेत्रको संरक्षण गर्न नसके जमिनमुनिको पानी सुकेर वातावरण र जैविक विविधता नै संकटमा पर्ने भएकाले सिमसार क्षेत्रको संरक्षणलाई अभियानका रुपमा अघि बढाउनुपर्ने बताए ।

उनले प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा एक गाउँ एक पोखरी अभियान र प्लास्टिक तथा फोहोरमैला व्यवस्थापनका लागि प्रशोधन परियोजनाको काम अघि बढाएको बताए ।

प्रदेश सांसद फखरुद्दिन खानले जैविक विविधता र वातावरण संरक्षणका लागि सिमसार क्षेत्रको संरक्षणको महत्वलाई विद्यालय तहसम्म जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याए । तराई क्षेत्रमा गर्मी याममा जमिनमुनिको पानी सुकेर हाते पाइपमा पानी नआउने र खानेपानीको हाहाकार हुने अवस्था आउन नदिने सिमसार क्षेत्र संरक्षणको दिगो रणनीति बनाउन सुझाए ।

विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक घनश्याम गुरुङले लुम्बिनी क्षेत्र शान्तिको प्रतिक मात्र नभई जैविक विविधतामा पनि अनुपम स्थल भएकाले सिमसार क्षेत्रको संरक्षणले पर्यटकको बसाई लम्ब्याउन ठूलो टेवा पुग्ने बताए ।

पत्रकार पन्त सम्मानित

विश्व सिमसार दिवसका अवसरमा लुम्बिनीको जैविक विविधता संरक्षण र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएका भैरहवाका अग्रज पत्रकार चेतन पन्तलाई लुम्बिनी विकास कोषले सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment