२१ माघ, चितवन । पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ ।
जिल्लाको ग्रामीण पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ । खेतीपाती र कामका लागि बालबालिकासमेत खटिन्छन् ।
स्कुले बालबालिकासमेत पढ्न छाडेर कन्दमूलको खोजीमा जाने गर्दछन् । ती बालबालिकालाई बीचैमा विद्यालय नछाडून् भन्नका लागि कालिका नगरपालिकाले दिवा खाजाको व्यवस्था गर्दै आएको छ । विद्यार्थी बीचैमा कक्षा नछाडुन् भनेर खाजा खुवाउने गरिएको हो ।
दिवा खाजामा विविधता दिन समयसमयमा खिरसमेत बनाइन्छ । चेपाङ बालबालिकाले खिर भने खान मान्दैनन् । कालिका आधारभूत विद्यालय निबुवाटार सिद्धिका प्रधानाध्यापक जीतबहादुर भट्टराई दिवा खाजामा खिर र जाउलो खान विद्यार्थीले रुचि नदेखाएको बताउँछन् ।
उनो विद्यालयमा भर्ना भएका विद्यार्थी १७४ जना छन् । नियमित विद्यालय हाजिर हुने विद्यार्थीको सङ्ख्या १४० जना रहेको छ । भट्टराईले भने, ‘घरमा खिरको स्वाद नलिएकाले होला विद्यालयमा पनि खान मान्दैनन् ।’
कालिका नगरपालिकाको चतुर्मुखी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर गुरुङ विद्यार्थीले जाउलो र खिर खाजामा राख्दा खासै चाख नदिएपछि त्यसको ठाउँमा मौसम अनुसारको फलफूल, दूध र चिउरा राखिएको बताउँछन् ।
कालिका नगरपालिकाका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले परिवारमा खिर खाने चलन नहुँदा विद्यार्थीलाई दिवा खाजामा खिर खुवाउन नसकिएको बताउँछन् । यहाँ रहेका ३५ वटा विद्यालयमा एक हजार ७७८ जना चेपाङ समुदायका विद्यार्थीलाई खाजा खुवाइन्छ ।
नगरपालिकाले अहिले ती विद्यालयमा अध्ययन गर्ने चार हजार ६५९ जना विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । दिवा खाजामा उनीहरुलाई स्थानीय उत्पादनलाई जोड दिन भनिएको छ ।
विद्यालयले खाजामा खिर, चना, अण्डा, तरकारी चिउरा, हलुवा, मासु चिउरा, जाउलोलगायतका परिकार खुवाउने गरेका छन् । विद्यार्थीले दिवा खाजामा स्थानीय उत्पादन गरिएको तरकारी र चिउरा, चना, केराउको तरकारी र चिउरा, चना र अण्डा बढी रुचाउने गरेको उनले जानकारी दिए ।
खाजा मीठो हुँदा विद्यार्थी आउने र नमिठो हुँदा कम हुने गरेपछि विद्यार्थीलाई खाजा खाने समयमा मात्र जानकारी दिइने गरेको उनले बताए । कतिपय खाजा खानकै लागि मात्र भए पनि आउन थालेपछि विद्यार्थीलाई विद्यालय आउने बानी बसेको उनको भनाइ छ ।
पुसदेखि असारसम्म दिवा खाजाका लागि नगरपालिकाले ८७ लाख २१ हजार बजेट विनियोजन गरेको छ । खाजाका लागि नगरपालिकाले परिकारसमेत तोकेको उनले बताए । उनले भने, ‘खाजा के खुवाउने भन्ने विषयमा हामीले तोकेका छौ । सोही अनुसार विद्यालयले खुवाउँछन् ।’
जिल्लाको कालिका नगरपालिकासँगै राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि चेपाङ समुदायको बसोबास रहेको छ । ग्रामीण क्षेत्रमा उब्जनी कम हुने भएकाले धेरैको परिवारमा आफ्नो उत्पादनले ६ महिना पनि जीविका चल्दैन ।
प्रतिक्रिया 4