Comments Add Comment

खोपको मात्रा पुरा गरेका पर्यटकले निर्वाध घुमफिर गर्न सक्ने

२१ माघ, काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने यात्रुको हकमा लगाएको होटेल क्वारेन्टिनको नीति खुकुलो बनाएको छ । ११ माघको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला मन्त्रालयहरुमा पठाएको छ ।

नयाँ निर्णय अनुसार अब भाइरस नदेखिएको मुलुकबाट सिधै वा संक्रमण नभएको मुलुकमा ट्रान्जिट भई हवाई मार्गबाट नेपाल आउने यात्रु मात्र रहेको उडानबाट आएका यात्रुलाई अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा घर जान दिइने भएको छ । १० दिनपछि भने क्वारेन्टिन अवधि पुरा हुने भएको हो ।

तर, कोरोनाको नयाँ भाइरसको संक्रमण भएका मुलुकबाट वा सो मुलुकमा ट्रान्जिट भई हवाईमार्गबाट आएका सबै यात्रुले भने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । यस्ता यात्रुको होटेलको खर्च स्वयमःले बेहोर्नुपर्नेछ ।

यससँगै अब बेलायतबाट नेपाल आउन लगाइएको रोक समेत फुकुवा भएको छ । होटेल क्वारेन्टिनमा बस्ने यात्रुले पाँच दिनपछि आफ्नै खर्चमा कोरोना परीक्षण गर्नुपर्नेछ । त्यसपछि नेगेटिभ रिर्पोट आएमा थप ५ दिन होम क्वारेन्टिनमा बस्ने गरी गन्तब्यमा जान दिइने निर्णय मन्त्रीपरिषद्ले गरेको हो ।

कोरोना परीक्षण नगर्ने यात्रुले भने अनिवार्य १० दिन होटेलमा बस्नुपर्ने निर्णय सरकारले गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको पछिल्लो निर्णयबारे बुधबार सार्वजनिक गरेको छ ।

होटेल बुक नभएसम्म टिकट नपाइने

कोरोनाको नयाँ रुप देखिएको मुलुकबाट सिधै उडान वा ट्रान्जिट उडानबाट आउने यात्रुले नेपालमा होटेल बुक नगरेसम्म हवाई टिकट काट्न पाउने छैनन् । प

र्यटन मन्त्रालयले यसअघि सूचिकरण गरेका होटेलहरुमा बुकिङ गरेको प्रमाण देखाएपछि मात्र ती यात्रुले टिकट पाउने छन् ।

वायुसेवा कम्पनीले चेकइन गर्दा होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुको होटेल बुक गरेको बेहोरा सुनिश्चित गर्नुपर्ने भएको छ ।

७२ घण्टे नेगेटिभ पीसीआर रिर्पोट अनिवार्य

हवाईमार्गबाट नेपाल आउने सबै यात्रुको साथमा यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टा भित्रको सम्बन्धित स्वीकृति प्राप्त प्रयोगशालामा कोभिड १९ परीक्षण गरेको नेगेटिभ रिर्पोट भने अनिवार्य साथमा बोक्नु पर्ने नियमलाई सरकारले निरन्तरता दिएको छ ।

विदेशबाट नेपाल आगमन गर्ने यात्रुले यात्राअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वेवसाइटमा रहेको फारम अनिवार्य भरी त्यसको ‘बारकोड’ साथमा लिइ आउनु पर्ने छ ।

यो नियमसमेत साविककै नियम हो । बारकोड बीनै आएका यात्रुलाई भने वायुसेवा कम्पनीले यात्राको अवधिमा फारम भर्न लगाउनु पर्छ ।

विवरण कूटनीतिक नियोगमा

नयाँ भाइरस पुष्टि भएका मुलुक वा ट्रान्जिट भई आउने यात्रुले यात्रा गर्नुअघि आफुले यात्रा गर्ने मिति तथा हवाई उडान सम्बन्धी विवरण सम्बन्धित मुलुकको नेपाली कुटनीतिक नियोगलाई गराउनु पर्छ ।

नियोगले त्यस्तो विवरण परराष्ट्र मन्त्रालयमा पठाउने छ । परराष्ट्रले भने यो विवरण पर्यटन मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई पठाउने भएको छ  ।

सरकारले तोकेका शर्त उल्लंघन गरी यात्रु ल्याएमा भने कारवाही एयरलाइन्स कम्पनीलाई गर्ने भएको छ । शर्त पुरा नभएका यात्रुलाई वायुसेवाले ल्याउन नपाउने र ल्याएमा त्यस्तो उडानबाट आउने सबै यात्रुको होटेल क्वारेन्टिन र स्वास्थ्य परीक्षणमा लाग्ने खर्च वायुसेवा कम्पनीबाट भराइने भएको छ ।

खोपको मात्रा पुरा भएका यात्रुलाई सहज

सरकारले कोरोना खोपको मात्र पुरा गरेका यात्रुलाई भने निर्वाध गन्तब्यमा जान दिने भएको छ । त्यसक्रममा उनीहरुले स्वास्थ्य मापदण्डका अन्य नियम भने पालना गर्नुपर्नेछ ।

नेपाल सरकारको निमन्त्रणमा ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ लिएर आएका उच्च पदस्थ विदेशी पदाधिकारीलाई समेत निर्धारित बैठक, भेटघाटसहितका कार्यक्रममा सहभागीगता खुला गरिएको छ ।

नेपालबाट औपचारिक कार्यक्रममा भाग लिन विदेश गएर पाँच दिन वा सोभन्दा कम अवधिमा नेपाल र्फकने पदाधिकारीलाई समेत नेपालमै गरेको पीसीआर परीक्षणका आधारमा नेपाल आउन दिइने भएको छ ।

स्थलमार्गबाट भित्रने ३० नाका खुला

स्थलमार्गबाट नेपाली र सीमाना जोडिएका मुलुकका यात्रुलाई यात्राको अनुमति दिइने भएको छ । तर, तेस्रो मुलुकका नागरिक भने स्थलमार्गबाट नेपाल आउन पाउने छैनन् । सरकारले ३० स्थलनाका समेत खुला गर्ने निर्णय गरेको छ ।

स्थलमार्गबाट नेपाल भित्रने नेपाली वा छिमेकी मुलुकका यात्रुले समेत पिसिआर नेगेटिभ रिर्पोट भने ल्याउनु पर्नेछ ।

यी हुन् खुलेका नाका

पशुपतिनगर (इलाम), काकडभिट्ट (झापा), खजुरगाछी (झापा), रानी (मोरङ), भण्टाबारी (सुनसरी), कुनौली (सप्तरी), माडर (सिराहा), जटही (धनुषा), भिट्टामोड (महोत्तर), मलंगवा (सर्लाही), गौर (रौटहट), बंकुल (रौटहत), मटिअर्वा (बारा), सिम्रोनगढ (बारा), वीरगन्ज (पर्सा), त्रिवेणी (नवलपरासी पूर्व), महेशपुर (नवलपरासी पश्चिम), बलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), काइलाबास (दाङ), जमुनाह (बाँके), सुरजपुर, गुलरिया (बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कंचनपुर), झुलाघाट (बैतडी), दार्चुला, रसुवागढी र तातोपानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment