+
+

एकीकृत लेखन पद्धत्तिको विकासमा जोड दिन विज्ञको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १२:१६

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य विभागले बुधबार विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी आयोजना गरेको छ । प्रज्ञा विज्ञसमीक्षित शोध–पत्रिकामा प्रकाशन गरिने सामग्रीहरूको गुणस्तरीयताका साथै एकरुपता कायम गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्राज्ञिक लेखन स्तरअभिवृद्धिका लागि विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी उपयोगी भएको ठहर बताए । उनले भने, ‘विज्ञहरूको छलफलबाट प्रज्ञा–प्रतिष्ठानका प्राज्ञिक प्रकाशनहरूको गुणस्तर बढाउनुका साथै लेखकीय ढाँचाको एकरुपता र समय सान्दर्भिक विषयवस्तुको उठानमा सकारात्मक सुझाव र ऊर्जा प्राप्त भएको छ ।’

यस्तै प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले प्राज्ञिक लेखन अभिवृद्धिका लागि सैद्धान्तिक दृष्टिकोण, शोध र ज्ञानको प्रस्तुतिको ढाँचालाई परिपक्व तथा शोधग्रन्थलाई विशिष्टिकृत र सरलीकृत गर्न कार्यक्रम उपयोगी र सान्दर्भिक भएको बताए ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्राज्ञिक अनुसन्धानमा आफ्नै पद्धत्तिको विकासका लागि प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न अनुसन्धान गर्ने निकायले अनुसन्धानको एपिए तथा एमएलए फम्र्याट नभई अनुसन्धानमा आफ्नै मौलिक पद्धति बनाइनुपर्नेमा जोड दिए ।

‘समकक्षी (विज्ञ) समीक्षाको ढाँचा तथा प्रयोगपक्ष’ विषयमा प्रा.डा. ताराकान्त पाण्डेयले अवधारणापत्र प्रस्तुत गरेका थिए । उक्त अवधारणापत्रमाथि टिप्पणी गर्दै विज्ञहरूले प्राज्ञिक लेखन तथा समीक्षालाई गुणस्तरीय र पारदर्शी बनाउन समीक्षाको ढाँचालाई व्यवहारिक बनाइनुपर्ने बताए ।

अधिकांश विज्ञ वक्ताले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक लेखनलाई स्तरीकरण गर्दै एकीकृत लेखन पद्धत्तिको विकास गरिनुपर्नेमा जोड दिए ।

प्रा.डा. पाण्डेयको अवधारणापत्रमाथि टिप्पणी गर्नेहरूमा प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. दानराज रेग्मी, प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. उमेशकुमार मण्डल, प्रा.डा. डिल्ली ओली र प्रा.डा. गोविन्दशरण उपाध्याय थिए ।

कार्यक्रमको सहजीकरण प्रज्ञा विज्ञसमीक्षित शोधपत्रिकाका कार्यकारी सम्पादक डा. बालाकृष्ण अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?