Comments Add Comment

‘राष्ट्रपतिज्यू, संविधान कहाँ छ ?’ (फोटो फिचर)

२३ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नागरिक समाजले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रबार प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले लैनचौरदेखि शीतलनिवाससम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी नागरिक अगुवाहरुले राष्ट्रपतिज्यू संविधान कहाँ छ ? असंवैधानिक नियुक्ति मान्दैनौं,  सत्ता कब्जा मुर्दावाद लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

बृहत नागरिक आन्दोलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक श्याम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई सदर गरिए आगामी कुनै संसदले पनि पाँच वर्षको आयु देख्न नपाउने बताए । सबै संसद गुलेलीको शिकार हुने उनको भनाइ छ ।

संविधानलाई कार्यकारीले व्याख्या गर्ने र कार्यकारीको मातहतमा न्यायपालिका हुने उल्टो दिशामा देश जान लागेको उनले बताए । हुकुमी शासनलाई जरैबाट खतम पार्न नागरिकहरु सडकमा आएको श्रेष्ठले बताए ।

राजनीतिक बिश्लेषक कृष्ण खनालले न्यायालय संविधान उल्लंघनको साक्षी बसिरहेको आरोप लगाए । कानुनको डिग्री बोकेर कालो कोट लगाउनेले मात्रै रक्षा गर्ने नभई नागरिकले पनि संविधानको रक्षा गर्ने उनको भनाइ छ । नागरिकहरु सडकमा नउभिउञ्जेल संविधान नजोगिने उनले बताए ।

प्रतिनिधि सभा विघटन तथा संवैधानिक आयोगमा गरिएको नियुक्तिको बिरोधमा प्लेकार्ड प्रदर्शन भएका थिए भने नाराबाजी समेत भएको थियो । लैनचौरबाट सुरु भएको प्रदर्शनलाई राष्ट्रपति भवन पुग्न नदिइएपछि पानीपोखरीमा कोण सभा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment