Comments Add Comment

चिनियाँ डाक्टर वेनलियाङलाई बेवास्ता गर्नु कसरी बन्यो महँगो ?

२५ माघ, काठमाडौं । विश्वमा सबैभन्दा पहिला कोरोना भाइरस (कोभिड–१९) को विषयमा चेतावनी दिने चिनियाँ डाक्टर ली वेनलियाङको मृत्यु भएको एक वर्ष भइसकेको छ । विश्वभर वेनलियाङको एक हिरोको रुपमा चर्चा भएको थियो । तर, कोरोना भाइरसकै कारण उनको मृत्यु भएको थियो ।

उनको स्वास्थ्यावस्थाको विषयलाई चिनियाँ सञ्चारमाध्यमहरुमा विरोधाभाषपूर्ण समाचारहरु आइरहेका थिए । तर, गत महिना वेनलियाङले काम गर्ने गरेको र उनको उपचार भइरहेको वुहान अस्पतालले वेनलियाङको मृत्यु भइसकेको बताएको थियो ।

३४ वर्षीय वेनलियाङले सन् २०१९ को डिसेम्बरको अन्तिम दिनमा आफ्ना साथी डाक्टरलाई संक्रमण फैलिएको विषयमा जानकारी दिएका थिए । तर, यसको तीन दिनपछि प्रहरी उनको घरमा गएर उनलाई यस्तो जानकारी दिन रोक्न चेतावनी दिएको थियो ।

त्यसपछि वेनलियाङ काममा फर्किए । उनी काममा फर्किँदा कोरोना संक्रमित रहेको बताइएको छ । कोरोना भाइरससँग संघर्ष गर्दागर्दै मृत्यु हुनुभन्दा तीन साता अघिसम्म उनी अस्पतालमा थिए ।

वेनलियाङले गत वर्ष जनवरी महिनामा नै अस्पतालको शय्याबाटै आफ्नो कहानी सामाजिक सञ्जाल वीबोबाट पोस्ट गरेका थिए । उनले आफ्नो कहानीमा लेखेका थिए, ‘सबैलाई नमस्कार, म डाक्टर ली वेनलियाङ, एक ओप्थामोलोजिस्ट हुँ र वुहान सेन्ट्रल हस्पिटलमा काम गर्छु ।’

उनको कहानीबाट वुहानमा सरकारी संस्थाले कोरोना भाइरसको संक्रमण फैलिएको सुरुवाती अवस्थामा कसरी गैरजिम्मेवारी तरिकाले काम गरेका थिए भन्ने थाहा हुन्छ । डिसेम्बर महिनामा डा. वेनलियाङ कोरोना संक्रमण सुरु भएको स्थानमा काम गर्थे । उनी कोरोनाको केन्द्रमा थिए । डिसेम्बर महिनामा नै उनलाई भाइरसबाट संक्रमित हुने सात जना मानिसहरु देखिएका थिए । जुन झट्ट हेर्दा सार्स भाइरसजस्तो देखिन्थ्यो । सार्स सन् २००३ मा फैलिएको महामारी थियो । साथै यसको संक्रमण पनि धेरै मुलुकमा फैलिएको थियो ।

कोरोना संक्रमण वुहानको हुआनन समुद्री खानाको बजारसँग सम्बन्धित मानिएको थियो र सबै बिरामी वेनलियाङको अस्पतालमा क्वारेन्टिनमा थिए । डिसेम्बर ३० मा उनले एक च्याट ग्रुपमा आफ्ना साथी डाक्टरहरुलाई एक सन्देश पठाए । उनले यो संक्रमण फैलिन सक्ने चेतावनी दिए र सबैलाई संक्रमणबाट बच्न प्रोटेक्टिभ कपडा लगाउन आग्रह गरे ।

त्यतिबेला वेनलियाङलाई यो पूर्णरुपमा नयाँ रोग हो भन्ने थाहा थिएन । यो नयाँ कोरोना भाइरस हो र यसको त्रास पूरा विश्वभर फैलिनेछ भन्ने कुरामा उनी अनविज्ञ थिए ।

त्यसको चारदिनपछि उनलाई पब्लिक सेक्युरिटी ब्युरोमा बोलाइयो । जहाँ उनलाई एक पत्रमा हस्ताक्षर गर्न लगाइयो । उक्त पत्रमा उनलाई ‘गलत बयान दिएको’ आरोप लगाइएको थियो, जसको कारण ‘सामाजिक शान्ति नराम्रोसँग बिग्रिएको’ आरोप लगाइएको थियो ।

पत्रमा लेखिएको थियो, ‘हामी तपाईंलाई चेतावनी दिन्छौं कि यदि तपाईं अझै पनि जिद्दी गर्नुहुन्छ र यो गैरकानुनी गतिविधि जारी राख्नुहुन्छ भने तपाईंमाथि कानुनी कारबाही हुनेछ । तपाईंले बुझ्नुभयो ?’

त्यसको मुनि वेनलियाङको हस्ताक्षरमा लेखिएको थियो ‘अँ, मैले बुझेँ ।’

वेनलियाङ ‘अफवाह फैलाएको’ आरोपमा अनुसन्धान भइरहेका आठ मानिसमध्येका एक थिए । जनवरी २०२० को अन्तिममा वेनलियाङले सामाजिक सञ्जाल वीबोमा उक्त पत्रको एक प्रति पोस्ट गर्दै आफूमाथि भएको घटनाको बारेमा जानकारी दिएका थिए । जनवरीको सुरुको सातामा वुहानका अधिकारीले जनावरको सम्पर्कमा आएका मानिसमा मात्र कोरोना संक्रमण देखिएको बताएका थिए । उनीहरुले यो संक्रमण मानिसबाट मानिसमा नसरेको बताएका थिए ।

यस्तो सोच राख्नु कति ठूलो गल्ती हो भन्ने अहिले हामी सबैलाई थाहा छ । त्यसैले डाक्टरहरुलाई संक्रमणबाट बच्न कुनै निर्देशिका जारी गरिएको थिएन । तर, प्रहरीसँग भेटेपछिको एक सातामा नै वेनलियाङ एक महिलाको उपचार गरिरहेका थिए । तर, उनलाई ती महिला कोरोना संक्रमित हुन् भन्ने थाहा थिएन ।

वेनलियाङले आफूलाई जनवरी १० मा खोकी लाग्न थालेको उल्लेख गरेका छन् । त्यसको अर्को दिन उनलाई ज्वरो आयो र दुईदिनपछि अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आयो । उनका मातापिता पनि बिरामी परे र अस्पतालमा भर्ना भए । यसको १० दिनपछि २० जनवरीमा चीनमा स्वास्थ्य आपतकाल घोषणा गरियो र यसको दुई महिनापछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि यसलाई विश्वव्यापी महामारी घोषणा गर्‍यो ।

सुरुवाती क्रममा कोरोना परीक्षण पनि भरोसायोग्य थिएन । वेनलियाङका अनुसार कोरोना भाइरसको परीक्षणमा प्रत्येकपटक नेगेटिभ नतिजा आएको थियो । ३० जनवरीमा वेनलियाङले वीबोमा पोस्ट गर्दै अन्ततः कोरोना पोजेटिभ आएको बताएका थिए । उक्त परीक्षण न्युक्लिक एसिड टेस्टिङबाट गरिएको थियो । उनको यो पोष्टको धेरैले समर्थन गर्दै कमेन्ट गरेका थिए । मानिसहरुले वेनलियाङको समर्थन गर्दै उनलाई मुलुकको हिरो भएको बताएका थिए । उनीहरुले मुलुकमा स्वास्थ्य सेवाको लागि सुरक्षित वातावरण सुनिश्चित गर्न वेनलियाङको आवश्यकता रहेको बताएका थिए ।

त्यसको केही दिनपछि फेब्रुअरी ७ मा वेनलियाङको मृत्यु भएको थियो । उनी केवल ३४ वर्षका थिए । वेनलियाङको मृत्युसँगै सामाजिक सञ्जाल वीबोमा मानिसहरुले आफूहरुलाई बोल्ने स्वतन्त्रता चाहिएको र वुहान सरकारले वेनलियाङसँग माफी माग्नुपर्ने आवाज उठाएका थिए । एक प्रयोगकर्ताले लेखेका थिए, ‘तपाईंहरुले कस्तो महसुस गर्नुभयो भन्ने नबिर्सिनुहोस्, यो आक्रोशलाई नबिर्सिनुहोस् । हामीले यस्तो घटना दाहोरिनुदिनुहुँदैन ।’

यस किसिमको आक्रोश बढेपछि सरकारले धेरै केमेन्टमा सेन्सर लगाएको थियो । तर, पछि चिनियाँ सरकारले उक्त डाक्टरप्रति सहानुभूति राखेर दुःखी हुनु स्वाभावित थियो भन्ने मनन गर्‍यो ।

एक वर्षपछि वेनलियाङको मुख्य पोस्टमा १० लाखभन्दा धेरै कमेन्ट आएका छन् । धेरै मानिसहरु वेनलियाङ को हुन् भन्ने जान्न पनि उनको सामाजिक सञ्जालसम्म पुगेका छन् । वेनलियाङ एक सन्तानका पिता थिए भने अर्को सन्तान जन्मिनेवाला थियो ।

अहिले मानिसहरु उनको पेजमा गुड मर्निङदेखि मौसम तथा आफ्नो जिन्दगीसँग सम्बन्धित जानकारी शेयर गर्न पुग्ने गरेका छन् । केही मानिसहरुले आफ्नो प्रेम कथा र डिप्रेसनजस्ता व्यक्तिगत कहानी पनि उनको पेजमा शेयर गरेका छन् ।

यद्यपि उनको मृत्यु भएको एक वर्षम चीनले जसरी कोरोना भाइरस नियन्त्रण गर्न सफल भयो, त्यसपछि धेरै कमेन्टमा मानिसहरुले आशा व्यक्त गरेका छन् । अहिले वुहानमा जिन्दगी सामान्य भइसकेको छ । तर, वेनलियाङले कोरोना भाइरसले संसार नै यसरी बदलिन्छ भनेर सायदै कल्पना गरेका थिए होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment