Comments Add Comment

बासमती धानमाथि दावी गर्दै नेपालले बुझायो ७० प्रमाण

२५, माघ, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बासमती धान नेपालमा २५ सय वर्षअघिबाटै उत्पादनमा रहेको दावी यूरोपेली संघ (ईयू) मा पेश गरेको छ ।

बासमती नेपालको हो भन्ने १३ बुँदे दाबी र त्यसलाई प्रमाणित गर्ने ७० वटा प्रमाणहरु बिहीबार ईयूमा पेश गरिएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए । नेपालका ४१ जिल्लाको ३० हजार हेक्टर जमिनमा अझै बासमती धान खेती भइरहेको र यसको व्यवसायिक उत्पादन र बिक्रीका यथेष्ट प्रमाण नेपालसंग रहेको नार्कले उल्लेख गरेको छ ।

नार्कले २५०० वर्षभन्दा अघि गौतम बुद्ध भिक्षा माग्न जाँदा नै बासमती धानको चामल स्थानीयले दानको रुपमा चढाउने गरेको ऐतिहासिक तर्क पनि ईयूमा पठाएको छ । ‘बासमती धान नेपालकै भूगोलको उत्पादन हो भन्ने धार्मिक, सांस्कृतिक र वैज्ञानिक कारणहरु हामीले पेश गरेका छौं । २५ सय वर्ष अघिदेखि नै नेपालमा बास्ना आउने धान (बासमती) उत्पादन र भोग चलनमा रहेको पाइएको छ,’ कार्यकारी निर्देशक डा. दीपक भण्डारीले भने ।

गौतम बुद्धलाई भिक्षाको रुपमा बास्ना आउने धान अर्थात् बासमतीको चामल दान गरिएको कथनहरु भेटिएको र त्यसलाई भिडियोमा संग्रहित गरिएको पनि उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र परिषद्का वैज्ञानिकसहित पाँच जनाको टोलीले एक महिना लगाएर संकलन गरेको ऐतिहासिक प्रमाणहरुबाट बासमती धानमा नेपालको दाबी पेश गरेको डा. भण्डारीको भनाइ छ ।

रुपन्देही जिल्लाको जमुहानी गाउँ र बागहीगाउँका रैथाने थारु किसानहरुसँग गरेको भिडियो कुराकानीमा किसानहरुले गौतम बुद्ध भिक्षा माग्न आउँदा बास्ना आउने बासमती चामल दान गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय ‘जिन बैंक’मा रहेको नेपाली बासमती धानको ६४ जात, नेपालको राजपत्रमा प्रकाशित उक्त धानको ४ जात, २००७ देखि यता प्रकाशित भएका पुस्तक, अन्तर्राष्ट्रिय संघ संस्था तथा जर्नलमा प्रकाशित लेखका आधारमा उक्त प्रमाण पेश गरिएको नार्कले जनाएको छ ।

नार्कले पेश गरेको दाबीले बासमती धानको भौगोलिक उत्पत्तिमाथि नेपालको दावी स्वीकृत हुने कार्यकारी निर्देशक डा. भण्डरीले दाबी गरे ।

नेपालले संकलन गरेको प्रमाण

नेपाली अध्ययन टोलीले समाजशास्त्री, पाका किसान, संस्कृतिविद्, कृषि वैज्ञानिकहरुको लेख रचना र उनीहरुसँगको अन्तर्वार्ता र विभिन्न समयमा प्रकाशित धार्मिक तथा सांस्कृतिक पुस्तक तथा ग्रन्थ र अन्तर्राष्ट्रिय जर्नलका लेखलाई प्रमाणको आधार बनाइएको नार्कले जनाएको छ ।

विभिन्न लिखित दस्तावेजका आधारमा नार्कले नेपालका ४१ जिल्लाको ३० हजार हेक्टर जमिनमा अझै बासमती धान खेती भइरहेको उल्लेख गरेको छ ।

नार्कको जीन बैंकमा रहेको हंशराज, जेठोबुढो, झिनुवा, कालो नुनीया, कालो/काला नियामक, कनक जिरा, करीया कामोद, कृष्णभोग, साली धान, श्याम जिरा लगायतका २६ प्रकारका बासमती जातहरु संकलित रुपमा रहेको पनि नेपालको दाबीमा उल्लेख छ ।

समुन्द्री सतहदेखि दुई हजार मिटरसम्मको उचाइमा अवस्थित भूगोलमा बासमती धान फल्ने गरेको नार्कले जनाएको छ । पूर्वी नेपालको झापादेखि पश्चिमको कञ्चनपुर र काठमाडौं उपत्यका तथा यसको वरपरका जिल्लाहरु पनि बासमती धान खेती हुने गरेको नार्कको प्रमाणमा समावेश छ ।

केही भारतीय जर्नलमा प्रकाशित लेख, अमेरिकामा बस्ने नेपाली कृषि विज्ञहरुले जुटाएको प्रमाणलाई पनि नार्कले आफ्नो ७० बुँदे पुष्ट्याइँमा समावेश गरेको छ ।

के हो बासमती विवाद ?

झण्डै ६ महिनाअघि बासमती धान र चामलको भौगोलिक उत्पत्तिमाथिको एकाधिकार माग गर्दै भारतले यूरोपियन यूनियन (ईयू) मा आवेदन दिएको थियो ।

११ सेप्टेम्बर २०२० मा इयूको जर्नलमा उक्त धानमाथिको भारतीय दाबीमा अन्य मुलुकको दावी बिरोधका लागि सूचना प्रकाशित भएपछि नेपालले दावी पठाएको थियो ।

बासमती धान र चामलमाथि दाबी विरोध नपरेमा उक्त उत्पादनको उत्पादन, बिक्री र ट्रेडमार्क अधिकार भारतको रहन्छ ।

ईयू जर्नलमा प्रकाशित भएको भारतीय दावीको मितिले तीन महिनाभित्रै दाबी विरोध पेश गर्नुपर्ने मान्यताअनुसार नेपालले मंसिर २४ गते आफ्नो संक्षिप्त १३ बुँदे दाबी ईयूमा दर्ता गराएको थियो ।

अहिले तीनै १३ बुँदालाई पुष्टि गर्ने थप प्रमाण बुझाएको हो भारतीय दाबीलाई खण्डन गर्दै पाकिस्तानले पनि बासमतीको भौगोलिक उत्पात्तिको दाबी ईयूमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment