Comments Add Comment

हिन्दुराष्ट्र विना नेपालको प्रजातन्त्र बलियो हुँदैन : राणा

२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सनातन हिन्दु राष्ट्रको जगविना नेपालको प्रजातन्त्र बलियो नहुने बताएका छन् ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला समितिद्वारा आयोजित चुनाव चिह्न अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बलियो बनाउनुपर्ने बताए ।

उनले यसका निम्ति राजतन्त्र नल्याई सुख नहुने पनि धारणा राखे । कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै अध्यक्ष राणाले यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफूहरुको मुद्धाले प्राथमिकता पाउने जिकिर गरे ।

अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनको निम्ति कम्युनिष्टलाई जनादेश दिइएको भएपनि ३ वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष कमल थापाले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिबद्धता ब्यक्त गरे । पार्टीको तिनै अध्यक्षले पवित्र धार्मिक ग्रन्थ गितालाई छोएर पार्टी कहिल्यै नफुटाउने र फुट्न नदिने प्रतिज्ञा गरेको उनको भनाइ छ । पार्टी विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उनले पार्टीका लाखौँ कार्यकताको भविष्य अन्धकार बनेको पनि बताए ।

अध्यक्ष थापाले असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना केही वर्षभित्रमै गराउने दाबी पनि गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताको सहानुभूति आफ्नो पार्टीसँग रहेको दाबी गरे । जनता कांग्रेस र नेकपासँग चेतिसकेको भन्दै उनले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफुहरु सक्षम भए जनताले साथ दिने बताए ।

अध्यक्ष लोहनीले जनताको सद्भावनालाई बोकेर लैजाने क्षमता कति आउँछ नेतृत्वको चुनौती पनि त्यही रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment