१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले विपद्का जोखिम न्युनीकरणका लागि छिमेकी राष्ट्रसँग पनि समन्वय गर्न आवश्यक रहेको बताएकी छिन् ।
सोमबार काठमाडौंमा आयोजित विपद् जोखिम न्युनीकरण र व्यवस्थापनसम्बन्धी कानूनी प्रावधान र कार्यन्वयनको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले नेपालको सीमासँग जोडिएका राष्ट्रहरूसँग कुटनीतिक संवाद अघि बढाउनुपर्ने बताएकी हुन् ।
उनले विपद् नेपालमा मात्र सिमित विषय नभएकाले सीमावर्ती राष्ट्रहरूसँग समन्वय र संवाद आवश्यक रहेको बताइन् । छिमेकी मित्रराष्ट्रसँग मात्र नभई अन्तर्राष्ट्रिय तहमा समेत कुटनीतिक पहल र संवाद शुरु गर्नुपर्ने उनको भनाइ छ ।
विपद्जन्य पुर्व सुचना प्रणालीलाई पनि थप प्रभावकारी बनाउन आवश्यक देखिएको उनले बताइन् ।
‘विपद् नेपालको मात्रै होइन, हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्युनीकरणको लागि कुटनीतिक संवाद सुरु गर्नुपर्छ,’ उनले भनिन्, ‘छिमेकी मित्रराष्ट्रहरूसँग मात्रै नभईकन हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनीतिक पहल गर्नुपर्छ, संवाद हामीले शुरु गर्नुपर्छ ।’
सरकारले रसुवा बाढीमा परेकाहरुको उद्धार र राहत वितरणमा ढिलाई गरेको उनको टिप्पणी थियो ।
प्रतिक्रिया 4