Comments Add Comment

भागरथी हत्या प्रकरण : घटना भएको समयमा सक्रिय मोबाइलहरुको विश्लेषण गर्दै प्रहरी

२८ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार गृह मन्त्रालयमा पुगेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को टोलीसँग भनेका छन्, ‘भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ ।’

प्रहरी स्रोतका अनुसार भट्ट प्रकरणमा प्रविधिको प्रयोग भएकाले निर्मला प्रकरण जस्तो जटिल नभएको ब्रिफिङ गरिएको थियो । त्यही आधारमा बादलले यो अभिव्यक्ति दिएका हुन् ।

तर, हालसम्म अनुसन्धानमा गतिलो सुराक फेला परिसकेको छैन । अनुसन्धान अधिकृतहरु नै भन्छन्, ‘अनुसन्धान यो चरणमा छ भन्ने नै हुँदैन कि सतप्रतिशत हुन्छ कि शून्य । त्यसैले कहिले सफलता मिल्छ भन्न गाह्रै छ । यद्यपि, यो केशमा केही सहज पाटाहरु नभएका होइनन् ।’

सीआईबीले गर्दैछ प्राविधिक विश्लेषण

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी भट्ट प्रकरणमा म्यानुअलसँगै प्राविधिक पक्षको अनुसन्धानलाई जोड दिइएको बताउँछन् । त्यसका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली खटिएको छ ।

टोलीले भट्ट हराएको बुधबारदेखि बिहीबार साँझसम्म बैतडीको दोगडाकेदार नगरपालिका–७ स्थित घटनास्थल आसपासको समयमा सक्रिय मोबाइल नम्बरहरुको विश्लेषण थालेको छ ।

एक अधिकृतका अनुसार घटना भएको आसपासको समयमा धेरै नम्बरहरु पनि सक्रिय देखिएका छैनन्, जसले प्राविधिक विश्लेषणलाई सहजता पुर्‍याउने उनको भनाइ छ । ‘तराईतिर भएको भए, एकदमै धेरै मोबाइलहरु सक्रिय देखिन्थे, त्यसले अनुसन्धान प्रक्रिया जटिल हुनसक्थ्यो’, उनी भन्छन् ।

बीटीएस टावरको आधारमा सक्रिय मोबाइलको विश्लेषणमा प्रहरीलाई एउटा चुनौती पनि रहेको अधिकृतहरु बताउँछन् । उनीहरु भन्छन्, ‘एकैठाउँमा दुई÷तीन ठाउँको टावर पनि ठोक्किने हुँदा केही अफ्ठ्यारा पनि छन् ।’

यसबाहेक घटनास्थल नजिकै भेटिएको भट्टको मोबाइल फोनको कल डिटेल रेकर्ड (सीडीआर) निकालेर पनि प्रहरीले विश्लेषण गरिरहेको छ ।

भट्टले एउटा एनटीसी र अर्को भारतीय सीम कार्ड प्रयोग गर्ने गरेको देखिएको छ । ‘भारतीय सीमको डिटेल्स पाउन गाह्रो छ यद्यपि, उताका प्रहरीसँग पनि समन्वय गरिरहेका छौं’, अनुसन्धानमा खटिएका अधिकृतहरु बताउँछन् ।

भट्टको मोबाइलबाट केही विषय डिलिट गरिएको समेत हुनसक्ने आशंकामा प्रहरीले परीक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।

जिल्ला अस्पताल, बैतडीमा भट्टको भजाइनल स्वाब निकालेर परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रयोगशालामा स्वाबमा पुरुषको वीर्य भए/नभएको जाँच हुनेछ भने आवश्यकता अनुसार डीएनए परीक्षणसमेत हुने स्रोतले बताएको छ ।

घटनास्थल आसपास हिँड्ने व्यक्ति र सवारी धनीहरुसँग सोधपुछ

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार प्रहरीले घटनास्थल आसपास हिँड्ने व्यक्तिहरुसँग पनि सोधपुछ गरेको छ ।

‘बुधबारदेखि बिहीबारको अवधिमा घटना भएको बाटोबाट हिँडेका सवारी साधनहरुका धनीसँग पनि बुझ्ने कार्य भइरहेको छ’, धामीले अनलाइनखबरसँग भने ।

बुधबार विद्यालय गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । बिहीबार बिहान उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमको प्रतिवेदनले उनको बलात्कारपछि हत्या भएको देखाएको छ ।

यो पनि पढ्नुस् :

निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

भागरथी हत्या प्रकरणको अनुसन्धान मोबाइलमा केन्द्रित

भागरथी हत्या प्रकरण : सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदी आफैं लागे घटनास्थलतर्फ 

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पाइयो : प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment