Comments Add Comment

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको देखिएको बताएका छन् ।

प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट लागेको भनिएको छ । भट्टको घाँटीमा पनि निलडाम छ । उनको यौनांगमा पनि घाउ रहेको पाइएको एक प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए । शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको उनले जनाए ।

यो पनि पढ्नुहोस भागरथी हत्या प्रकरणको अनुसन्धान मोबाइलमा केन्द्रित

‘हिजोसम्म हत्या मात्रै वा बलात्कारपछि हत्या भन्ने कुरामा द्विविधा थियो, अब जबरजस्तीकरणीपछि हत्या भन्ने निर्क्यौल भयो’, उनले भने । आइतबार बिहानै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका छन् ।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।

लगत्तै तालिम प्राप्त कुकुरलाई घटनास्थल लैजाँदा भट्टको मोबाइल भेटिएको थियो । प्रहरीले उनको मोबाइललाई केन्द्रमा राखेर प्राविधिक पाटोबाट अनुसन्धान अघि बढाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेशकुमार सिंह भन्छन्, ‘प्रहरीले संवेदनशील भएर यो घटनाको अनुसन्धान गरिरहेको छ, चाँडै नतिजा निस्किनेछ ।’

यो पनि पढ्नुहोस निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment