Comments Add Comment

भागरथी हत्या प्रकरण : सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदी आफैं लागे घटनास्थलतर्फ

फाइल तस्वीर

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार-७ मा भएको हत्याको निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी आफैं घटनास्थलतर्फ गएका छन् । चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी त्यहाँ पुगेका हुन् ।

प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् । घटनाको छानविनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले शुक्रबारै प्रदेशका अर्का एसएसपी जनकराज पाण्डेलाई पनि खटाइसकेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटाइसकेको छ । कञ्चनपुरको निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो ।

बाखु नेतृत्वको टोलीले घटनाको प्राविधिक विश्लेषणमा सहयोग गर्नेछ । भट्टको मोबाइल प्रहरीले बरामद गरेको छ, त्यसको कल डिटेल लगायतको विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

बलात्कारपछि हत्याको आशंका

सनातन धर्म माध्यमिक विद्यालयमा पढ्न गएकी उनी बुधबार साँझसम्म घर फर्किइनन् । त्यसपछि बालिका हराएको भन्दै खोजी सुरु थालिएको थियो । बिहीबार बिहान उनको शव लबलेक सामुदायिक वनमा भेटियो ।

मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएलगत्तै तालिम प्राप्त कुकुर लगेर प्रहरीले स्नीफिङ गराएको थियो । सामान्य पानीसमेत परिरहेको भए पनि कुकुरले शव भेटिएकै स्थान वरिपरि घटना भएको संकेत गरेको थियो ।

अनुसन्धानमा खटिएका एक अधिकृतले अनलाइनखबरसँग सुनाए, ‘झाडी माडिएको र घिसारिएको चोटपटक भएकाले पनि घटना नजिकै भएको हुनसक्ने देखिएको छ ।’

यो पनि पढ्नुहोस निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment