Comments Add Comment

नारायणकाजीले ‘चुप लाग्नोस्’ भन्दा ऋषि धमला के गरिरहेका थिए ?

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार सभास्थलबाटै ‘ऋषि धमलाजी तपाई चुप लाग्नोस्’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । रामकुमारी झाँक्रीले बोल्न पाइन्छ भनेको र श्रेष्ठले चुप लाग्नोस् भनेको भिडियो जोडेर टिकटकमा समेत हिट बनाइएको छ ।

बुधबारको कार्यक्रमलाई सम्वोधन गर्दागर्दै प्रवक्ता श्रेष्ठले माइकबाट ठूलो स्वरले भनेका थिए, ‘एकछिन, त्यहाँ पत्रकार साथीहरुले केही नगरिदिनुहोला । पत्रकार साथीहरु ! हामी यहाँ सभा सञ्चालन गरिराखेका छौं । तपाईंहरु त्यहाँ चुप लाग्दिनोस् । सुन्नुभो ? ऋषि धमलाजी ? ऋषि धमलाजी । तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नोस् । चुप लाग्नोस् । तपाईं चुप लाग्नोस् ।’

आफूले ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि अन्तरवार्ताहरु लिइरहेका बेला नारायणकाजीले चुप लाग्नोस् भनेको पत्रकार धमलाको प्रतिक्रिया छ ।

उनले अनलाइनखबरसँग भने, ‘मैले सार्वजनिक ठाउँमा भेला भएकाहरुको प्रतिक्रिया लिइरहेको थिएँ । मैले सभालाई डिस्टर्ब हुने गरी कुनै काम गरेको थिइनँ ।’

तर, पत्रकार धमलाले कार्यक्रमस्थलमा कसैको अन्तरवार्ता लिइरहेको मात्र नभएर आन्दोलनकारीहरुसँग सेल्फी खिच्दै होहल्ला गरिरहेको हुनाले आयोजकले रोक्नुपरेको नेकपा नेता बताउँछन् । कार्यक्रम नै डिस्टर्ब हुने गरी धमलाले होहल्ला गरेको आयोजक पक्षको आरोप छ ।

त्यसो त पत्रकार धमला माघ २३ गते नारायणहिटी अगाडि आयोजित कार्यक्रममा पनि त्यही गरी बिन्दास पारामा प्रस्तुत भएका थिए । पत्रकारको दायरालाई नाघेर उनले ओली पक्षको कार्यक्रमस्थलमा पनि हल्लाखल्ला गरेका थिए । कार्यक्रममा सहभागीहरुले ‘ऋषि धमला जिन्दावाद’ भन्दै नारा समेत लगाएका थिए र सेल्फी खिचेका थिए ।

ओली समूहको कार्यक्रममा जस्तै वाहीवाही पाउने अपेक्षामा माइक्रोफोनसहित उपस्थित भएका धमलाले बुधबार भने नारायणकाजी श्रेष्ठको कासन व्यहोर्नुपर्‍यो ।

नेकपा प्रचण्ड-माधव समूहकै एक नेताले भने धमलाले होहल्ला गरेर कार्यक्रम डिस्टर्ब गरेकै भए पनि नारायणकाजी श्रेष्ठले त्यसरी माइकबाटै तपाईं चुप लाग्नोस् भनेर कराउनु उचित नभएको बताउँछन् । ती नेता भन्छन्, ‘स्वयंसेवकहरुले छेउमा गएर हल्ला नगरिदिनुहोला भनेको भए सकिइहाल्थ्यो, ‘मञ्चबाटै ऋषि धमलाजी तपाईं चुप लाग्नोस्’ भनिरहन जरुरी थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment