Comments Add Comment

प्रदेश २ का सरकारी आइसोलेसन खाली, २ जिल्लामा संक्रमित शून्य

२९ माघ, जनकपुरधाम । प्रदेश २ का २ वटा जिल्लामा  कोरोना  भाइरसको सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ । अन्य ६ जिल्लामा पनि न्युन संख्यामा मात्र सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पताल जनकपुरधाममा १८ वटा र गजेन्द्रनारायण सिंह अस्पतालमा २ वटा नमूना परीक्षण गर्दा कुनै पोजेटिभ देखिएनन् । बुधबार प्रादेशिक अस्पताल जनकपुरधाममा १७ वटा र नारायणी अस्पताल बीरगंजमा ११ वटा नमूना परीक्षण गर्दा कुनै संक्रमित फेला परेनन् ।

यसअघि मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २१ वटा पीसीआर र एन्टिजन विधिबाट ३ वटा स्वाब परीक्षण गर्दा १ जना मात्रै पोजेटिभ देखिएका छन् ।

सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ६१ जनाको, सिरहा प्रयोगशालामा २ जनाको, बर्दिवास प्रयोगशालामा ९५ जनाको स्वाब परीक्षण गर्दा एक जना पनि संक्रमित फेला परेनन् । नारायणी अस्पताल वीरगंजमा ३० वटा स्वाब नमूना परीक्षण गर्दा १ जना मात्रै संक्रमित देखिए ।

आइतबार गौर अस्पताल रौतहटमा १७ वटा परीक्षण गर्दा कुनै पनि संक्रमित फेला नपरेको त्यसअघि शनिबार प्रादेशिक प्रयोगशाला जनकपुरधाममा २८ वटा स्वाब परीक्षण गर्दा १ जना फ्लोअप केस र बाँकी नेगेटिभ देखिएको थियो ।

अहिले प्रदेशमा ५१ जना मात्रै सक्रिय संक्रमित छन् । यी ५१ जना पनि होम आइसोलेसनमा रहँदा आठ वटै जिल्लाका सरकारी आइसोलेसन खाली भएको छ ।

सप्तरी र सिरहा जिल्लामा कोरोना संक्रमित एक जना पनि छैनन् । धनुषामा १६ जना, महोत्तरीमा ७ जना, सर्लाहीमा १० जना, रौतहटमा २ जना, बारामा ४ जना र पर्सामा १२ जना संक्रमित भएपनि उनीहरु होम आइसोलेसनमै रहेको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

प्रदेश २ मा मंगलबारसम्म १ लाख ४५ हजार ५ सय २९ जनाको स्वाब संकलन गरिएको छ । जसमा १७ हजार १ सय ९१ जना संक्रमित देखिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएर प्रदेशमा २ सय ९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment