Comments Add Comment

पूर्वाधारमा लगानी नबढाए चीनले उछिन्छ : बाइडन

३० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले पूर्वाधारमा लगानी नबढाए चीनले उछिन्ने चेतावनी दिएका छन् । बिहीबार अमेरिकी संसद्को माथिल्लो सदन सिनेटका केही सांसदसँग भएको छलफलको क्रममा बाइडनले आगामी दिनमा अमेरिकाले पूर्वाधारमा खर्च बढाउनुपर्ने बताएका हुन् ।

बाइडनले यसै बुधबार चिनियाँ समकक्षी सी जिनपिङसँग फोनवार्ता गरेका थिए । पदभार ग्रहण गरेपछि चिनियाँ समकक्षीसँग बाइडनको यो पहिलो वार्ता थियो । अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार वार्ताको क्रममा बाइडनले आपसी लडाइँ दुवै मुलुकका लागि घातक हुन सक्ने चेतावनी दिएका थिए । यो वार्तापछि बिहीबार भएको बैठकमा उनले सांसदहरुसँग चीनसँग जोडेर टिप्पणी गरेका हुन् ।

सांसदहरुसँगको बैठकमा बाइडनले भने, ‘हामीले पूर्वाधारमा खर्च बढाउनुपर्ने आवश्यकता छ । चीनले विभिन्न क्षेत्रमा अर्बाैं डलर खर्च गरिरहेको छ । चाहे त्यो यातायात होस्, पर्यावरणसँग सम्बन्धित योजना होस् वा पूर्वाधारका अन्य योजना हुन्, सबैमा चीनले उल्लेख्य खर्च गरिरहेको छ । त्यसैले हामीले पनि आफ्नो कदम बढाउँदै स्तर सुधार्नुपर्छ ।’

आफ्नो निर्वाचन–अभियानको क्रममा बाइडनले उल्लेख्य मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने र स्वच्छ ऊर्जासँग सम्बन्धित परियोजनामा खर्च गर्ने प्रस्ताव गरेका थिए । अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियर्स (एएससीई) नामक संस्थाका अनुसार अमेरिकामा पूर्वाधारको विकासमा देखिएको कमी पूरा गर्न सन् २०२५ सम्ममा करिब २० खर्ब डलर आवश्यक हुन्छ । यसलाई पूरा गर्न नसकेको खण्डमा त्यसको दुईगुणा नोक्सानी हुने अनुमान छ ।

सन् २०१९ को वल्र्ड इकोनोमिक फोरमको रिपोर्टअनुसार अमेरिका पूर्वाधारको गुणस्तरको आधारमा १३ औं स्थानमा थियो । जबकी सन् २००२ मा अमेरिका पाँचौं स्थानमा थियो । यो अवधिमा चीनले भने पूर्वाधार विकासको लागि उल्लेख्य रकम खर्च गरेको थियो ।

अहिले चीनले उच्च गतिको रेल सञ्जालको विकास गर्न उल्लेख्य खर्च गरिरहेको छ । त्यसका साथै मेट्रो प्रणाली, विशिष्ट प्रविधि, इलेक्ट्रिसिटी ग्रिड र मोबाइल नेटवर्कमा पनि उसले उल्लेख्य लगानी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment