Comments Add Comment

विद्यालय प्राङ्गणमा ओली समूहको सभा, सजावटमा बालबालिका प्रयोग

१ फागुन, बुटवल  । नेकपा ओली समूहले बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभामा झण्डा सजावटमा स्कुले बालबालिकाको प्रयोग भएको छ । स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक झण्डै दर्जन बालबालिकाहरु प्रयोग भएका हुन् ।

उनीहरुले झण्डा सजावटको काम गरिरहँदा आमसभा आयोजक समूहले रोकेको देखिंदैन । कलिला बालबालिकालाई यसरी राजनीतिक कार्यक्रममा सहभागी गराइनु बाल अधिकारको हनन् मानिन्छ ।

कलिला बालबालिकालाई राजनीतिक कार्यक्रममा झण्डा प्रयोग गराउँदा भविष्यमा नराम्रो असर पुर्याउने बताउँछन् त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बैकुण्ठ पाण्डे । ‘पहिलो कुरा विद्यालय प्राङ्गणमा यस्ता आमसभा गर्नु नै गलत हो, दोस्रो कलिला बालबालिकाको प्रयोग त अपराध नै मानिन्छ,’ प्राध्यापक पाण्डेले भने, ‘कलिलो उमेरमा पार्टीका झण्डा बोकाउँदा र प्रयोग गराउँदा बाल मस्तिष्कमा गहिरो छाप पर्छ र भविष्यमा नकारात्मक असर पर्छ ।’

माघ २३ गते काठमाडौंमा सम्पन्न ओली समूहको आमसभामा अपेक्षाकृत जनसहभागिता नभएपछि ओली समूहले तुलनात्मकरुपमा बलियो पकड भएको मानिने बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो । सो समूहका नेताहरुले बुटवलको आमसभा अहिलेसम्मकै ठूलो र ऐतिहासिक हुने दावी गर्दै आएका छन् । आमसभामा रुपन्देहीबाट एक लाख र अन्य जिल्लाबाट एक लाख गरी दुई लाख जनता उतार्ने सो समूहका लुुम्बिनी प्रदेश इन्चार्ज एवं मुुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आएका छन् ।

आसभालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । सभामा पूर्वजनमुक्ति सेना पनि सहभागी गराउने सो समूहले बताएको छ ।

प्रचण्ड नेपाल समूहले पनि बुटवलमा यही माघ १५ गते ठूलो सभा गरेपछि त्यसलाई काउन्टर दिन ओली समूहले पनि बुटवलमै ठूलो सभा लागेको हो । बुटवलको सभाले प्रचण्ड नेपाल समूह हौसिएको थियो ।

बुटवलको सभालाई ओली समूहले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment