Comments Add Comment

प्रदेश २ सरकारको ३ वर्षे उपलब्धि : संघीय सरकारविरुद्व ६ वटा मुद्दा दायर

२३ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले तीन वर्षको आफ्नो उपलब्धि सार्वजनिक गरेको छ । तीन वर्ष पुगेको अवसरमा सोमबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले उपलब्धि सार्वजनिक गरेको हो ।

संघीय सरकारविरुद्व मुद्दा दायर गर्नुलाई पनि प्रदेश सरकारले आफ्नो उपलब्धि मानेको छ । संविधानले प्रदान गरेको प्रदेशको अधिकारलाई संस्थागत गर्दै प्रदेशको समग्र विकासका लागि सागरनाथ वन, सिँचाइ, प्रहरी समायोजन, कर्मचारी समायोजन लगायतका छ वटा विषयमा संघीय सरकारको विरुद्धमा प्रदेश सरकारले मुद्दा दायर गरेको छ । यसले आगामी दिनमा अधिकार क्षेत्र तथा जिम्मेबारी वाँडफाँडमा स्पष्टता कायम गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताए ।

प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानलाई ठूलो उपलब्धि मानेको छ । यो अभियान अन्तर्गत हालसम्म ६ हजार ९ सय ६ जना छोरीलाई बीस वर्षपछि रु. तीन लाख पाउने गरी छोरी बिमा÷मुद्धती खाता खोली प्रदेश सरकारबाट रकम जम्मा गरिएको र २६ हजार ९ सय ५६ जना छोरीको तथ्याङ्क संकलन गरिएको प्रदेश सरकारले जनाएको छ ।

छोरीलाई विद्यालयमा पहुँच पुर्याउन र प्रोत्साहित गर्ने उद्देश्यले २ सय ४१ ओटा सामुदायिक विद्यालयमा १४ हजार साइकल वितरण गरिएको र थप २० हजार साइकल वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ ।

‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत धार्मिक पर्यटनलाई बढावा दिन जानकी मन्दिर, रौजा मजार, छिन्नमस्ता भगवती, सहलेश स्थान, पारशनाथ, भिसवा बौद्ध गुम्बाहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य अगाडि बढाउनुलाई सरकारले उपलब्धि भनेको छ । यस अभियान अन्तर्गत २७ वटा पोखरी एवम् सार्वजनिकर पर्यटकीय र धार्मिक स्थलहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य सुरु भएको उसले जनाएको छ ।

मधेश आन्दोलनका २७ जना शहीद परिवारलाई रोजगार उपलब्ध गराइएको, आन्दोलनका क्रममा घाइते व्यक्ति तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुलाई पनि उपलब्धि भनेको छ ।

हाल सम्म ३९ वटा विधेयक प्रमाणित भई कार्यान्वयनमा आएको र २२ वटा विधेयक प्रदेश सभाको विधायन समितिमा विचाराधीन अवस्थामा रहनुले प्रदेश सरकारलाई कार्य सञ्चालन गर्न मार्ग प्रशस्त हुनुका साथै संविधान प्रदत्त अधिकारको प्रयोग तथा परिपालनामा सघाउ पुगेको प्रदेश सरकारको भनाई छ ।

तीन वर्षको अवधीमा प्रदेश सरकारले सबै प्रदेश सभा (६४ वटा) निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर सडक निर्माण गरी कुल ३२० किलोमिटर पक्की सडक निर्माण गर्ने कार्यको थालनी गरेको जनाएको छ । यस अवधिमा विभिन्न स्थानमा ५०.९५ किलोमिटर कालोपत्रे सडक निर्माण, ७४.९० किलोमिटर पक्की सडक ढलान, १ सय ७०.१७ किलोमिटर ग्राभेल सडक निर्माण, ५ सय ५४ किलोमिटर नाला निर्माण, १४ वटा कल्भर्ट निर्माण, ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माण गरेको जनाएको छ ।

प्रदेशमा आइपर्ने बाढी, डुबान, शीतलहर, आगलागीजस्ता विपद् प्रभावित परिवारलाई ८ हजार थान कम्बल, १ हजार थान त्रिपाल र रु.११ लाख ४० हजार राहत स्वरूप नगद उपलब्ध गराउनुलाई उपलब्धिको सूचीमा राखेको छ ।

यस्तै, सुरक्षा निकायहरुको भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले उपलब्ध गराएको ३९ करोड रकमबाट ८ वटा प्रहरी चौकीहरु निर्माणाधीन अवस्थामा रहेको प्रदेश सरकारले जनाएको छ ।

उपलब्धि सार्वजनिक गर्न प्रदेश सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रत्येक वर्ष आइपर्ने विभिन्न विपद, संक्रामक रोगको प्रकोप, सेवा प्रवाहमा जनशक्तिको अपर्याप्तता, संघीय कानून समयमै नबन्दा प्रदेश कानून निर्माण र कार्यान्वयनमा जटिलता, जस्ता कारणले प्राप्त उपलब्धिलाई संस्थागत गर्न कठिन परिस्थितिको सामना गर्नुपरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment