Comments Add Comment

कोभिसिल्ड खोपलाई आशंका नगर्न विज्ञको आग्रह

३ फागुन, काठमाडौं । स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन् । सरकारको लक्ष्य अनुसार मानिसहरुले खोप नलगाइरहेको अवस्थामा खोप विज्ञहरुले ढुक्क भएर खोप लगाउन सुझाव दिएका हुन् ।

खोप अभियान सुरु भएयता खोप विरुद्ध भ्रामक सन्देश फैलिइएकाले विज्ञहरुले भारतको सेरम इनिस्च्युटले उत्पादन गरेको खोपका विषयमा स्पष्ट पारेका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार बाल स्वास्थ्य तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिसिल्ड खोप नेपाल सहित अन्य १६ वटा मुलुकहरूमा पनि प्रयोग भइरहेको छ । खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरीद गर्न सक्ने मूल्यको आधारमा कोभिसिल्डलाई नेपालमा मान्यता दिइएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरलले हाल जारी खोप अभियान नरोकियोस् भनेर खोप खरिद प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनले अबको केही सातामै थप खोप आउने बताए ।

अहिले कतिपयले तेस्रो चरणको ट्रायल गर्न कोभिसिल्ड खोप ल्याइएको भन्दै खोपको सुरक्षा र प्रभावकारितामाथि प्रश्न उठाएका छन् तर त्यसो होइन’ डा. गौतमले भने, ‘ तेस्रो चरणको क्लिनिकल ट्रायल पास भएर प्रयोगको लागि ल्याइएको हो र, यो खोप प्रभावकारी पनि छ ।’

उनले कोभिसिल्ड प्रभावकारी खोपमध्येको एक रहेको प्रमाणिकता प्राप्त गरेपछि नेपालमा प्रयोगका लागि स्वीकृत दिइएको बताए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार राजधानीमा कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तर्क्रिया कार्यक्रममा आयोजना गरेको थियो । जसमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोभिसिल्ड खोपमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सोही क्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरलले हाल जारी खोप अभियानलाई नरोक्न खोप खरिद प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनले अबको केही सातामै थप खोप आउने बताए ।

उनका अनुसार फागुन २३ गतेबाट ५५ वर्ष भन्दा माथिका नागरिकलाई खोप दिने स्वास्थ्य मन्त्रालयले तयारी गरिरहेको छ ।

‘कोभिसिल्ड १२ हजार बढी जनसंख्यामा परीक्षण गरी सुरक्षित र प्रभावकारी देखिएपछि मात्रै आएको हो । नयाँ रोग र नयाँ खोपको विषयमा सुरुमा आशंका चल्नु स्वाभाविक हो’ डा. पोखरेलले भने, ‘खोपको विषयमा विश्वास दिलाउन सरकार र सञ्चार माध्यमको उत्तिकै भूमिका छ ।’

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले अहिलेसम्म कोभिसिल्ड खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति पाएको भन्दै अरु केही खोपहरुको स्वीकृतिका लागि आवेदन परेको बताए । उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै खोप सुरक्षित भएको एकीन गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेपछि कोभिसिल्डलाई अनुमति दिइएको स्पष्ट पार्दै अन्य खोपका हकमा पनि सोही विधि अपनाइने बताए ।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बस्तोलाले कोभिसिल्ड खोपमा कुनै शंका नगर्न आग्रह गरे । उनका अनुसार  खोप लगाएर कोरोना संक्रमण भएपनि मानिस सिकिस्त हुँदैन । समुदायमा खोप अभियानमा जानुअघि खोपप्रति भएको भ्रमहरु चिर्न आवश्यक रहेको बताउँदै उनले भने, ‘कोरोनाविरुद्धको खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।’

खोप विज्ञ डा श्यामराज उप्रेतीले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको कोभिसिल्डको तेस्रो चरणको ट्रायलको राम्रो नतिजाको कारणले नै नेपालीले पनि खोप लगाउन पाएको बताए । तेस्रो चरणमा १२ हजार भन्दा बढी मानिसमा परीक्षण गर्दा राम्रो नतिजा आएकाले यो खोप प्रभावकारी रहेको उनले बताए ।

उनले सरकारलाई पहिलो र दोस्रो डोजको खोप लगाउने अन्तर ८ देखि १२ को राख्न सुझाव दिएको समेत बताए । ‘खोप लगाउने समयअवधी जति बढी अन्तर भयो उति नै खोप प्रभावकारी हुने अनुसन्धानले देखायो । त्यसैले हामीले पनि सो निर्णय गर्दैछौँ,’ उनले भने । सरकारले यसअघि ४ साता पछि दोस्रो डोज खोप लगाउने निर्णय गरेको थियो ।

जनस्वास्थ्य विज्ञ प्रा. डा. केदार बरालले नेपालले प्रयोग गरेको खोप सुरक्षित रहेको बताए । ‘खोप लगाउँदा कसै कसैलाई सामान्य असर देखिन्छ भनेकै थियो । कसैलाई पनि जटिल असर भने देखिएन त्यसैले यो खोप लगाउन डराउनु पर्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment