Comments Add Comment

सिद्धबाबा प्रकरण : पुनरावेदनमा जाने सरकारी वकिलको तयारी

६ फागुन, विराटनगर । बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दामा भएको फैसलाको पूर्ण पाठ आएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ ।

सफाइ पाउने फैसला भएको दुई महिनापछि बिहीबार पूर्ण पाठ आएको हो । पूर्ण पाठ आएपछि जिल्ला सरकारी वकिलको कार्यालयले फैसलाको पुनरावेदनका लागि उच्च अदालत विराटनगरमा निवेदन दर्ता गर्ने तयारी गरेको हो । पुनरावेदन गर्ने समय भएकाले फैसलाको अध्ययनपछि निर्णय गरिने जिल्ला न्यायाधिवक्ता नारायण रिमालले बताए ।

पुनरावेदन गर्ने समय एक सय दिन हुने बताउँदै उनले कहिले दर्ता गर्ने भन्ने टङ्गो नभएको बताए । ‘मुद्दा पुनरावेदन गर्ने सम्भावना धेरै छ,’ उनले भने, ‘फैसलाको अध्ययनपछि टुङ्गो पुनरावेदन गर्छौं ।’

त्रि-दण्ड धारण गरेकाले आफू स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका विवादास्पद धर्मगुरु गिरीले महिलाले शरीर समर्पण गरेपछि करणी गरेको तर्कसहित न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार नठहर्ने फैसला सुनाएको थियो ।

महिलाको चरित्रमाथि प्रश्न उठाएको अदालतको फैसलामा भनिएको छ, ‘जाहेरवाली र प्रतिवादी बीच आदान प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दावीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको आरोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment