 
																			६ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको नेतृत्व पूर्वलडाकुहरुले गर्न थालेका छन् । पूर्वलडाकुहरुको टोली नेकपा बिभाजनलगत्तैदेखि प्रचण्डको सुरक्षामा थियो । सरकारले अहिले सुरक्षा दस्ता फिर्ता गरेपछि यो टोली सार्वजनिक भएको हो ।
युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशाखा)ले अनलाइनखबरसँग भने, ‘पार्टी बिभाजनलगत्तै युवा संघले नै छानेर टोली खटाएको थियो । हाम्रा साथीहरु सुरक्षा सहयोगीको रुपमा मात्रै थिए तर सरकारले जब सुरक्षाकर्मी खोस्यो त्यसपछि मात्रै हाम्रा साथीहरु फ्रन्टमा देखिएका हुन् ।’
दीपशिखाका अनुसार प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक) को नेतृत्वमा १० जनाको टोली खटाइएको छ । टोलीका सबै सदस्यहरु युवा संघमा आबद्ध छन् । उनीहरुले प्रचण्डको सुरक्षाको अगुवाइ गर्दै आएका छन् । देशभर भएका विरोध प्रदर्शनमा पनि पाण्डे नेतृत्वको टोलीले नै सुरक्षा प्रवन्ध मिलाउँदै आएको थियो ।
प्रचण्ड शान्ति प्रक्रियामा आउँदा पनि लडाकुहरुको दस्ताले सुरक्षा दिएको थियो । प्रचण्डको सुरक्षा टोलीको नेतृत्व विगतमा सन्तु दराई (परवाना), वीरेन्द्र वीएम (मन्जिल), युवराज दुलाल (शरद)लगायतले गरेका थिए । हाल युवा संघमा रहेका पाण्डे पनि प्रचण्डको सुरक्षामा लामो समयदेखि खटिएका एक सदस्य हुन् । उनले सेना समायोजनको क्रममा स्वेच्छिक अवकास रोजेका थिए ।
दुलालले अनलाइनखबरसँग भने, ‘प्रचण्डलाई अहिले पनि सुरक्षा थ्रेट छ । तर सरकारले बदनियत ढंगले सुरक्षा टोली फिर्ता गरेपछि पार्टीले विशेष तालिमप्राप्त हाम्रै साथीहरुलाई सुरक्षामा खटाएको छ ।’
सरकारले पूर्वप्रधानमन्त्रीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै प्रचण्डको सुरक्षामा हाल दुई जना नेपाल प्रहरीका र करिब १३ जना सशस्त्र प्रहरीका टोली मात्र छन् । यसअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी खटिएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4