Comments Add Comment

बालबालिकाहरु सामाजिक जीवनबाट कसरी विमुख हुँदैछन् ?

एकआपसमा दुखसुख साझेदार गरेर, सहयोग आदनप्रदान गरे, खुसी–उत्सव मनाएर, आपसी सद्भाव र सहकार्य गरेर बाँच्नुपर्ने हाम्रो नैसर्गिक स्वभाव हो  तर, अहिले जो नयाँ पुस्ता छन्, उनीहरु सामाजिक जीवनबाट विमुख भइरहेका छन् ।

अहिले धेरैजसो घरमा एकल सन्तान हुर्किरहेका छन् । तुलनात्मक रुपमा धेरै सन्तानलाई स्यहार्नु, हुर्काउनु, पढाउनु खर्चिलो एवं झन्झटिलो हुन्छ । जबकी एउटा बच्चा हुर्काउनका लागि अभिभावकलाई धेरै व्यायभार पर्दैन । बोझिलो हुँदैन । तर, बच्चाको कोणबाट हेर्ने हो भने, यो राम्रो मानिदैन । किनभने, घरमा एउटा मात्र बच्चा छ भने उनीहरु एक्लो हुन्छन् । उनीहरुको खेल्ने साथी हुँदैनन् । आफु समानका साथी नभएपछि उनीहरु एक्लिन्छन् ।

जब बच्चा एक्लिन्छन्, उनीहरुलाई आफ्नो मन बहलाउनका लागि मोवाइल चाहिन्छ । टेलिभिजन चाहिन्छ । खेल्ने साथी नभएपछि उनीहरु मोवाइलमा गेम खेलेर समय कटाउँछन् । टिभीमा कार्टुन हेरेर आफुलाई भुलाउँछन् ।

अहिलेको अवस्था के छ भने, शहरी क्षेत्रमा बच्चाहरुलाई खेल्ने ठाउँ छैन । टोलमा साथीहरु पनि पाइदैन । त्यसैले उनीहरु घरभित्रै बस्छन् । एउटा कोठाभित्र बसेर कम्प्युटर, ल्यापटप, मोवाइलमा गेम खेल्छन् । आमाबुबालाई त लाग्न सक्छ, ‘मेरो बच्चाले लुगा फोहोर बनाएन । लड्ने, चोट लाग्ने डर भएन । छिमेकका छोराछोरीसँग झगडा गरेनन् ।’ तर, यस विपरित बच्चाहरु कोठाभित्र खुम्चिएर बस्दा उनीहरुमा सामाजिक भावनाको विकास हुन पाउँदैन ।

तपाईं÷हामीले अनुभव गरेकै छौं कि, बच्चालाई बच्चाजस्तै साथीहरु चाहिन्छ । उनीहरुले आफ्नो उमेर समानका दौतरी खोज्छन् । यसरी एकअर्का खेल्ने क्रममा उनीहरुले धेरै कुरा सिक्छन् । बुझ्छन् । बच्चासँग बच्चा नै साथी छ भने उनीहरुले आमाबुबा खोज्दैनन् । मोवाइल खोज्दैनन् । टेलिभिजन खोज्दैनन् । एकअर्का खेलेर, उफ्रिएर, झगडा गरेर (बच्चाबीचको झगडालाई सामान्य मान्नुपर्छ) समय कटाउँछन् । यसले प्रत्यक्ष रुपमा धेरै कुरामा फाइदा मिलिरहेको हुन्छ ।

बच्चाहरु आपसमा रमाउँछन् । खुसी हुन्छन् । उनीहरु खेल्ने कुरा, खानेकुरा साझेदार गर्छन् । यसले उनीहरुमा सहकार्यको भावना विकास हुन्छ । खेल्ने क्रममा कसले राम्रो गर्ने भन्ने वा कसले राम्रो बनाउने भन्ने हुन्छ । यसले प्रतिस्पर्धाको भावना विकास हुन्छ । एकअर्कासँग मिल्नु, जुध्नु, सहयोग आदनप्रदान गर्नु सिक्छन् ।

अहिलेका बच्चाहरुलाई हामीले पढाएका छौं । सफासुग्घर राखेका छौं । सुकिलो–मुकिलो बनाएका छौं । बच्चाहरुले राम्ररी पढिरहेका होलान् । परीक्षामा राम्रै नतिजा हासिल गरिरहेका होलान् । तर, सामान्य जीवनयापनका कुराहरु कति जानेका छन् ?

के उनीहरु घरमा आएको नव आगन्तुकलाई हार्दिकतापूर्वक स्वागत गर्छन् ? बाटोमा भेटिएका कुनै अनाथ साथीलाई सहयोग गर्छन् ? घरमा आमाबुबाको काममा सहयोग गर्न तत्पर हुन्छन् ?

बच्चालाई हामीले व्यवहारिक जीवन बाँच्न सिकाउनुपर्छ । उनीहरुलाई खान, बस्न, शिष्टचार पालना गराउन, सहयोग गर्न, सहकार्य गर्न, प्रतिस्पर्धा गर्न सिकाउनुपर्छ । सामाजिक भावनाको विकास गराउनुपर्छ ।

हामीले हाम्रो स्कुलमा बच्चाको जन्मदिन मनाउने फरक विधी अपनाएका छौं । जुन बच्चाको जन्मदिन हो, उसले चकलेट किनेर बाँड्ने होइन । बरु चकलेट किन्ने पैसा जम्मा गर्न लगाउँछौं । उनीहरुले आफ्नो जन्मदिनको मेसोमा बचत गरेको पैसा कुनै सामाजिक सेवामा खर्चन लगाइन्छ । भलै यी काम सामान्य लाग्छ । यद्यपी यीनै स–सना कामले उनीहरुमा सामाजिक भावनाको विकास गराउँछ ।

अहिलेका बच्चाहरुलाई विद्यालयमा होस् वा घरमा, सामाजिक आचरण सिकाउनुपर्छ । कहिले सामाजिक काममा लगाउने, कहिले आफन्तकहाँ लाने, कहिले साथीभाईसग घुलमिल गराउने जस्ता काम गर्नुपर्छ । यस्ता कुराले उनीहरुलाई सामाजिक जीवन बाँच्न सिकाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment