+
+
Shares

सगरमाथासहित ६ हिमालबाट ३५ टन फोहोर संकलन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १७:२१

६ फागुन, काठमाडौं । नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत सन् २०२१ मा ६ वटा हिमालबाट फोहोर संकलन गर्ने भएको छ । सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्न लागेको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यसपटक सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादम्बलम हिमालमा सरसफाइ गर्न लागिएको छ । ती हिमालहरुको बेस क्याम्पभन्दा माथिबाट मात्रै १८ टन फोहोर ल्याउने उद्देश्य रहेको पौडेलले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्का अनुसार सेनाले अभियानको एकीकृतरुपमा अगुवाइ गर्नेछ भने यसमा नेपाल पर्यटन विभाग, योजना तथा अनुगमन महाशाखा, नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य हुनेछ ।

‘मानव स्रोत र बेस क्याम्पको व्यवस्थापन र अनुगमनसँगै हवाई साधनबाट बन्दोवस्तीका सामान तथा जम्मा भएका फोहोर ओसार्ने काम पनि सेनाले गर्नेछ’, खड्काले सुनाए, ‘परेको खण्डमा उद्दारका कार्य पनि सेनाबाटै हुनेछ ।’

निर्देशनालयका सेनानी आदित्य कार्कीका अनुसार अभियानबाट जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न मद्दत पुग्नेछ भने पर्वतारोहीलाई थप आकर्षण हुँदै भावी पुस्तालाई पनि हिमाल संरक्षणका लागि सन्देश मिल्नेछ ।

हिमाल सफाइ अभियानको पहिलो चरणमा हाल पूर्वतयारी र समन्वय भइरहेको बताउँदै कार्कीले भनेका छन्, ‘दोस्रो चरणमा चैत १ देखि २६ सम्म एक्लिमटाइजेसन तालिम सञ्चालन गरिनेछ, चैत २१ देखि जेठ २२ सम्म सरसफाइ अभियान चलाइनेछ ।’

सेनाका अनुसार सगरमाथामा मात्रै एक लाख ४० हजार टन फोहोर, ४० टन मानवीय फोहोर र ३ सय बढी आरोहीका मृत शरीर रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?