
काठमाडौं । पदम गौतमको पहिलो उपन्यास ‘विश्रामपुर’ बजारमा आएको छ ।
राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका गौतमको यसअघि ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ दुई कवितासंग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजलसंग्रह प्रकाशित छन् ।
विश्रामपुरमा राजनीतिले लगातार चुसेको एक देहाती गाउँको कथा भनिएको छ । उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् । आञ्चालिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत संग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । लेखक हाल पोर्चुगलमा रोजगारीको सिलसिलामा छन् ।
उपन्यास लेखिनुको पृष्टभूमिका बारेमा लेखक गौतम भन्छन्– ‘यो उपन्यासको भावभूमि र मुख्य विषय तीन-चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या हो । मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरें धेरै पटक । पात्र र गाउँ काल्पनिक भएपनि सपना उही हुन्, मान्छेका कथा उही हुन् । ‘
सांग्रीला बुक्सले प्रकाशन गरेको ‘विश्रामपुर’ उपन्यास २७२ पृष्ठको छ । यसको मूल्य ४ सय ८४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4