Comments Add Comment

जग्गा खरिदमा भ्रष्टाचार भएको भन्दै भिजन लुम्बिनीमा विवाद

७ फागुन, बुटवल । झण्डै एक हजार जना शेयर सदस्य रहेको रुपन्देहीको एउटा पब्लिक कम्पनीले करोडौं मूल्यको जग्गा खरिद गर्दा आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेको छ ।

बुटवलमा प्रधान कार्यालय रहेको भिजन लुम्बिनी पब्लिक कम्पनि लिमिटेडले चार करोड ७२ लाखमा ६ बिघा ५ कठ््ठा जग्गा जग्गा खरिद गर्दा भ्रष्टाचार भएको भन्दै राजस्व अनुसन्धान कार्यालय बुटवलमा उजुरी परेको हो ।

कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वडा नंं ४ मा उक्त जग्गा खरिद गरेको थियो । दानव नदीले चारैतिर घेरेको बीचको बन्जर टापुका रुपमा रहेको उक्त बगर जग्गा खेतीयोग्य र बिक्रीयोग्य दुबै नभएको थाहा भएपछि जग्गा खरिदमा ठूलो आर्थिक घोटाला भएको कुरा बाहिर आएको हो ।

जग्गा खरिद गर्दा संस्थाभित्र ठूलो आर्थिक भ्रष्टाचार भएको र सरकारको राजस्व समेत छली भएको भन्दै छानबिन गर्न माग गर्दै संस्थाकै शेयर सदस्य एवं तत्कालीन लेखा समिति सदस्य रमेश शाहीले राजस्व अनुसन्धान कार्यालय बुटवलमा उजुरी दिएका छन् ।

कृषि प्रयोजनका लागि भन्दै संस्थाले चार वर्ष अघि सञ्चालक समितिको वैठकबाट निर्णय गरेर उक्त जग्गा खरिद गरेको थियो । जग्गा खरिद गरेको चार वर्षसम्म उक्ता जग्गाको आम्दानी शून्य छ । त्यति मात्र होइन उक्त जग्गा बेच्न चाहेमा बिक्री समेत नहुने र बैंकले उक्त जग्गाको धितो मूल्याङ्कन नै नगर्ने निवेदक शाहीको दावी छ ।

पौने ५ करोड मूल्य देखाइएको उक्त जग्गा खरिद गरेवापत चार जनालाई १ करोड ५५ लाख ६२ हजार ५ सय रुपैयाँ मात्र बैंकमार्फत भुक्तानी गरेको देखिन्छ ।

संस्थाले आशिष आचार्यलाई १० लाख ८१ हजार २ सय ५० रुपैयाँ र ५३ लाख ७१ हजार ८ सय ७५ रुपैयां, आनन्द आचार्यलाई ५४ लाख, बिन्दु आचार्यलाई १३ लाख ७५ हजार र विष्णुकुमारी आचार्यलाई २३ लाख ३४ हजार ३ सय ७५ रुपैयाँ भुक्तानी गरेको शाहीको निवेदनमा उल्लेख छ ।

जग्गा खरिद गर्दा संस्थाले जग्गाधनीको खातामा बैंकमार्फत भुक्तानी नगरेकाले जग्गाको वास्तविक मूल्य कति हो र जग्गाधनीले कति रकम बुझे भन्ने प्रमाण पनि छैन । जग्गा खरिदमा भएको सत्यतथ्य पत्ता लगाउन जग्गा खरिद फाइल झिकाएर अनुसन्धान गरी तत्कालीन सञ्चालक समितिविरुद्ध राजस्व छली तथा भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारवाही गर्न शाहीले माग गरेका छन् ।

जग्गा खरिद गर्दा मालपोत कार्यालयमा बुझाएको राजस्व र संस्थाको वित्तीय प्रतिवेदनमा देखाइएको सम्पत्तिबीच ज्यादै ठूलो फरक रहेको निवेदनमा उल्लेख छ । यस्तै व्यक्तिको नाममा जग्गा खरिदका लागि गएको ६८ लाख ६० हजार रुपैयाँ पेश्की रकमको समेत चार वर्षसम्म असूलउपर र फरफारक नगरेकाले पनि जग्गा खरिदमा तत्कालीन सञ्चालक समितिको ठूलो आर्थिक चलखेल भएको देखिएको शाहीले निवेदनमा उल्लेख गरेका छन् ।

शेयरधनीले ऋणधन गरेर तथा गास काटेर लगानी गरेको पुँजीलाई एउटा समूहले पदको दुरुपयोग गरी भ्रष्टाचार गर्न मिल्छ भन्दै शाहीले प्रश्न गरेका छन् ।

जग्गाको नामसारी गर्दा समेत जग्गाको मूल्य कम देखाएर ठूलो मात्रामा राजस्व छली गरेको शाहीको निवेदनमा उल्लेख छ । कामै नलाग्ने जग्गा खरिद भएपनि यसबारे अधिकांश शेयर सदस्यलाई जानकारी छैन । शेयर सदस्यहरुलाई गुमराहमा राखेर कौडीको जग्गालाई करोडौंमा किनेको देखाइएको शाहीको आरोप छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन बीसीले जग्गा खरिद गर्दा राजस्व छली गरेको भनी रमेश शाहीले दिएको निवेदनमाथि अनुसन्धान भइरहेको बताएका छन् । भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले संस्थाले प्रगति गर्न थालेपछि केही साथीहरुले असहयोग गर्न थालेको प्रतिक्रिया दिएका छन् ।

जग्गा खरिद गर्दा पनि पोखरेल नै संस्थाको अध्यक्ष थिए । उनले जग्गा खरिदमा भएको घाटा जलविद्युत परियोजनाबाट नाफा कमाएर पुर्ति गर्ने भनेर यसबारे प्रश्न उठाउनेलाई फकाउने प्रयास गरेको संस्थाकै शेयर सदस्यहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment