News Summary
Generated by OK AI. Editorially reviewed.- खोटाङका २८ वर्षीय बिरामी डुकेन्द्र श्रेष्ठको उपचारका लागि सङ्कलन गरिएको रकममध्ये जोगिएको पैसाले इनरुवामा १० धुर घडेरी खरिद गरिएको छ ।
- कतारमा रहेका दिलीप श्रेष्ठको पहलमा सञ्चालित अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका दाताहरूबाट १२ लाख ३७ हजार ८०३ रुपैयाँ सङ्कलन भएको थियो ।
- उपचारमा ३ लाख ८ हजार ९८० रुपैयाँ खर्च भएपछि थप सुधार नहुने देखिएकाले परिवारले बाँकी रकमबाट घडेरी किन्ने निर्णय गरेको हो ।
१४ जेठ, खोटाङ । खोटाङका एक बिरामीको उपचारका क्रममा उठाइएको सहयोग रकमले घडेरी जोडिएको छ । शरीर समस्या भएर कष्टपूर्ण जीवन बिताइरहेका खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे तल्लोमाबेका २८ वर्षीय डुकेन्द्र श्रेष्ठको सहयोगार्थ संकलन गरिएको रकमले जग्गा खरिद गरिएको हो । उपचार भएपछि बाँकी रहेको पैसाले डुकेन्द्रका लागि इनरुवा नगरपालिका–५ बलाहामा १० धुर जग्गा खरिद गरिएको हो ।
दुवै खुट्टा कक्रक्क खुम्चिनुका साथै मुन्टो नै उठाउन नमिल्ने समस्याबाट १७ वर्षदेखि पीडित डुकेन्द्रको उपचारका लागि हाल कतारमा रहेका दिलीप श्रेष्ठको पहलमा १२ लाख ३७ हजार ८०३ रुपैयाँ संकलन गरिएको थियो । त्यसमध्ये उपचारका क्रममा तीन लाख ८ हजार ९८० रुपैयाँ खर्च भएपछि बाँकी रहेको रकमले घडेरी जोडिएको हो ।
जग्गाधनी अछुतप्रसाद खतिवडाबाट साँढे १० लाखमा घडेरी किनबेच गर्ने टुंगो लागेको थियो तर खतिवडाले दुई लाख छुट दिनुका साथै चिरानी काठका लागि एउटा रुख प्रदान गरेका छन् । थप उपचार गर्दा पनि डुकेन्द्रको स्वास्थ्यमा सुधार आउने अवस्था नदेखिएपछि परिवारले घडेरी किनिदिने निर्णय गरेका हुन् ।
खर्च अभावमा लामो समयसम्म दर्दनाक अवस्थामा घरैमा थलिएका डुकेन्द्रको उपचारका लागि दिलीपले २०८० फागुन ३ गतेदेखि २०८१ फागुन २१ गतेसम्म ‘डुकेन्द्र श्रेष्ठ बचाउ अभियान’ सञ्चालन गरेका थिए । स्वदेश तथा विदेशमा रहेका ४ हजार ६६९ जना दाताबाट जुटाइएको रकम डुकेन्द्रको परिवारलाई हस्तान्तरण गरिएको अभियान्ता दिलीपले बताए ।
२०५२ वैशाख २५ गते जन्मिएका डुकेन्द्रको स्वास्थ्य अवस्था सामान्य थियो । ११ वर्षको भएपछि गोडा दुख्न सुरु भयो । कटकटी दुखाई क्रमश: तिघ्रा हुँदै पिडौंलातिर सर्यो । आँख्ला–आँख्ला दुख्न थाल्यो । क्रमश: कम्मरसम्म दुख्न थालेपछि शरीर कुप्रो पर्न थालेको हो । शरीर कुप्रो परेपछि उनी हिँड्न नसक्ने अवस्थामा पुगेका हुन् । उनका दुवै खुट्टा खुम्चिएको छ । खुट्टा सुकेर दाउराजस्तै बनेको छ । दुई हातले टेकेर एक ठाउँबाट अर्को ठाउँ घस्रेर सर्ने गरेका डुकेन्द्रले हाल ह्वील चेयर प्रयोग गर्न थालेका छन् ।
सुरुमा डुकिन्द्रलाई धामीझाँक्री गरियो । रोग निको हुनुको सट्टा झन् बल्झिदै गएपछि विभिन्न अस्पताल लगिए । अस्पताल लगेपछि उनलाई गठिया बाथ भएको पूष्टि भएको आफन्त पेशलमान श्रेष्ठले बताए । ‘पहिला डुकेन्द्र ठीक थियो । सुरुमा खुट्टा दुख्यो भन्दै थियो । एक दुई वर्षपछि काक्राककुक्रुक्क भो,’ पेशलमानले भने, ‘मुन्टो उभो जाँदैन, घोप्टो परिरहन्छ । खुट्टा सुकेर चल्दैन । चार पाउले घस्रेर हिँड्छ ।’
अस्पतालमा लगेपछि डाक्टरले मुटुसम्वन्धी नसाको बाथ लागेको बताएका थिए । १५–१५ दिनमा इन्जेक्सन दिन सल्लाह दिए । तर, खर्च अभाव र बाटोका कारण नियमित इन्जेक्सन लाउन सम्भव भएन । भएभरका सम्पत्ति सकिएपछि उनलाई फर्काएर घरैमा राखिएको थियो ।
लामो समयसम्म ओछ्यानमा थलिएका डुकिन्द्रलाई २०८० सालमा उपचारकै लागि दमक झारिएको थियो । दमकमा बसिरहेका बुवा कृष्णनारायण श्रेष्ठ र कान्छी आमा भद्रकुमारी श्रेष्ठको साथमा थेरापी गराउँदा उनको स्वास्थ्यमा केही सुधार आएको थियो तर खर्च अभाव भएपछि सहयोग अभियान सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया 4