
९ फागुन, काठमाडौं । अमेरिकाको कोलोराडोस्थित डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमा नै बोइङको ७७७–२०० मोडलको इन्जिनमा आगो लागेको छ । २३१ यात्रु बोकेको उक्त विमानमा १० जना क्रु सदस्य थिए । इन्जिनमा आगो लागेसँगै विमानलाई पुनः सोही विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । यो घटनामा कोही पनि घाइते भएका छैनन् ।
विमानमा चढेका मानिसहरुले विमान उडेको केही समयमा नै ठूलो विष्फोट भएको उल्लेख गरेका छन् । अमेरिकाको फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए)ले उक्त विमानको दाहिनेतर्फको इन्जिन फेल भएको बताएको छ । विमानको इन्जिनमा आगो लागेसँगै पाइलटले ठूलो विष्फोट भएको सुनिएको बताएका थिए ।
‘विमान निकै डरलाग्दो गरी हल्लिन थाल्यो र निकै तल आयो’, एक यात्रुले भने । उनले कुनै दुर्घटनामा भएको अवस्थामा पहिचान खुलोस् भनेर उनले आफ्नो पर्स खल्तीमा हालेका थिए ।
अनलाइनमा प्रकाशित तस्वीरमा विमानको इन्जिनमा आगो लागेको देखिन्छ । यो घटनापछि विमानका टुक्राहरु पनि खसेको भेटिएका छन् । अधिकारीहरुले मानिसलाई यी टुक्राहरु नचलाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया 4