Comments Add Comment

मातृभाषामा जस्तो आनन्द अरु भाषा बोल्दा हुन्न : मुख्यमन्त्री राउत

९ फागुन, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मातृभाषा आमाको दूध र अन्य भाषा डेरीको दूध जस्तो रहेको टिप्पणी गरेका छन् ।

भोजपुरी प्रतिष्ठान वीरगञ्जले आयोजना गरेको बहुभाषिक कवि सम्मेलन एवं शिलान्यास कार्यक्रममा उनले मातृभाषा जस्तो आनन्द अरु भाषा बोल्दा नआउने गरेको बताए ।

‘भोजपुरी भाषामा जस्तो शब्दको भण्डार अन्य भाषामा छैन, कतिपय भोजपुरी शब्द अन्य भाषामा उल्था गर्न सकिँदैन । सँस्कृति, व्याकरण, कला र साहित्य छ । भोजपुरी, मैथिली, अवधी भाषा राज्यको प्राथमिकतामा कहिल्यै परेन’ मुख्यमन्त्री राउतले भने ‘राज्यले त भोजपुरी भाषा, साहित्य, कला सँस्कृतिलाई कसरी अगाडि बढाउने सोचेन, हामीले पनि महत्व दिएनौं ।’

कुनै समुदायको इतिहास मेटाउनु छ भने भाषा सँस्कृति र कलालाई खत्तम पारिने गरेको बताउँदै उनले नेपालमा पनि नेपाली भाषालाई बाहेक अन्य भाषाप्रति राज्यको दृष्टिकोण ठीक नरहेको बताए । उनले प्रदेशमा बोलिने सबै भाषा, सँस्कृति, कला साहित्यको संरक्षणका लागि स्थायी संरचना बनाउने र वीरगञ्जमा भोजपुरी साहित्यका भीष्म पितामहको रुपमा परिचित पण्डित दीपनारायण मिश्रको सालिक बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले आफ्नो भाषामा कृति लेखेर प्रसिद्ध साहित्यकारहरु विश्वमञ्चमा परिचित भएको बताउँदै हिनताबोधबाट माथि उठेर राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चमा भोजपुरी भाषमा नै आफ्नोे एजेन्डा राख्नुपर्नेमा जोड दिए ।

जसपाका नेता लक्ष्मणलाल कर्णले नेपाली भाषीहरु शासन सत्तामा रहेर भोजपुरीलाई दवाएर राखेको बताए । अर्का नेता प्रदीप यादवले भोजपुरी गीत संगितमा देखिएके विकृति रोक्नुपर्ने बताए ।

महानगरपालिकाले प्रतिष्ठानका लागि ५० लाख दिने

वीरगञ्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ छुट्ट्याएको छ । महानगरपालिकाले नै भोजपुरी साहित्यकार उमाशंकर द्विवेदी संयोजकत्वको ९ सदस्यीय भोजपुरी प्रतिष्ठान वीरगञ्ज गठन गरेको थियो । त्यसका लागि वीरगञ्ज महानगरपालिकाले ‘भोजपुरी प्रतिष्ठान ऐन’ नै जारी गरेको छ ।

भोजपुरी भाषालाई सर्व स्वीकार्य, कामकाजी भाषा बनाउन, विद्यालयमा पठनपाठन गराउन तथा कला, भाषा साहित्यको सम्वर्द्धनमा प्रतिष्ठानले काम गर्ने महानगरका नगर प्रमुख विजय कुमार सरावगी बताउँछन् ।

प्रतिष्ठानका लागि डीपीआर अन्तिम चरणमा रहेको बताउँदै उनले सबैको सहयोगले प्रतिष्ठानलाई अघि बढाउने आश्वासन दिए । भोजपुरी साहित्यकार पण्डित मिश्रको स्मृतिमा १ लाख नगद सहितको अन्तर्राष्ट्रिय पुरस्कारको समेत आइतबार घोषणा गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष द्विवेदीले हिन्दी, नेपाली भन्दा भोजपुरी भाषा निकै पुरानो भाषा भएको बताए । कविरदासले भोजपुरीमा कविता लेख्ने गरेको बताउँदै उनले नेपालमा नेपालीलाई स्थापित गर्न राज्यले भोजपुरी, मैथली र अवधी भाषालाई दवाएर राखेको बताए ।

प्रतिष्ठानका लागि वीरगञ्ज महानगरले वडा नं ८ रेल्वे रोडमा १ हजार वर्ग फिटको जमिन उपलब्ध गराएको छ । जसमा प्रतिष्ठानको तीन तले भवन बनाउन लागिएको छ ।

भवनको भुइँ तला व्यवसायिक प्रयोजनमा भाडामा लगाउने, पहिलो तल्लामा आधा भागमा प्रतिष्ठानका पदाधिकारी कक्ष, विभिन्न विभाग र बैठक हल, दोस्रो तलामा ३ हजार ४ सय वर्गफिटको हल र तेस्रो तलामा नाट्य, संगीत, कला सम्बन्धित संरचना रहने गरी डीपीआर तयार भइरहेको प्रतिष्ठानका सदस्य रितेश त्रिपाठीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment