Comments Add Comment

मेलम्ची सुरुङको पुनः परीक्षण भोलिबाट

फाइल तस्वीर

९ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबारबाट पुनः परीक्षण थालिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि त्रुटि सच्याएर पुनः परीक्षण  सुरू हुन लागेको हो ।

गत २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फसेको थियो । दुर्घटनामा एक जनाको मृत्यु भयो भने एक–एक जना घाइते र बेपत्ता भएका थिए ।

अहिले मुख्य सुरुङका चारवटै अडिट टनेलका गेट सुधार गरिएको छ । गेट जडानको काम चलिरहँदा एडीबीको विज्ञ टिमले आयोजना स्थलको अनुगमन गरेर प्रतिवेदन दिएको थियो । त्यसका आधारमा परियोजनामा थप काम पनि भएको खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । भोलि सोमबार खानेपानीमन्त्री मणि थापा ११ बजे आयोजनाको हेडवर्क्समा पुगेर पानी भर्ने कामको थालनी गर्नेछन् ।

सिन्धु , अम्बाथानको ग्याल्थुम र सुन्दरीजलमा हाइड्रोमेकानिकल गेट जडानको सकेर पानी हाल्न लागिएको हो । आयोजनाको मुहानमा बन्ने हेडवर्क्ससहित निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ ।

ठेकदार र आयोजनाले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्यतालिका अनुसार काम भयो भने २०७८ वैशाख २ गते (१५ अप्रिल २०२१) सम्म आयोजनाको काम सकिनेछ ।

आयोजनाको स्थायी बाँध र बालुवा थिग्राउने संयन्त्र (डिसेन्डर) बनिनसकेपनि यसअघि नै बनाइएको स्थायी बाँधमार्फत सुरुङमा पानी हाल्ने योजना छ ।

पानी भर्न थालेको १५ देखि २० दिनमा २६ किलोमिटरको सुरुङ भरिन्छ । परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर परीक्षण गरिनेछ ।

कुनै केही समस्या देखिए त्यसलाई सम्बोधन गर्नुपर्छ । यो सबै काम सकिएपछि मात्र नियमित रुपमा सुरुङमा पानी भर्न थालिने छ । फेरि पुरानै प्रक्रियाबाट सुरुङ भर्नुपर्छ ।

यो पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । सबै अवस्था सामान्य हुँदा मेलम्चीको पानी मुख्य वितरण लाइनमा पठाउने काम थाल्न पुसपछि पनि दुईदेखि तीन महिना लाग्ने अनुमान छ ।

मेलम्चीको पानी वितरण गर्न शहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकी बनेका छन् । मेलम्चीको पानी सुन्दरीजल झरेपछि ट्यांकी र पाइपलाइनको सफाइ र परीक्षण गर्नुपर्ने हुन्छ । चक्रपथ आसपासका एक तिहाइ क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ । महाराजगञ्ज, धुम्बाराही, समाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ ।

आयोजनाका अधिकारीहरुका अनुसार सुन्दरीजलमा पानी खसेको एक वर्षसम्म वितरण प्रणालीलाई व्यवस्थापन गर्न समय लाग्नेछ । पुराना प्रणालीलाई हटाउँदै नयाँमा पानी पठाउने र घर-घरमा पानी पुर्याउने काम क्रमशः गर्दै जाने योजना छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी मात्रै आउने छ ।

काठमाडौंमा मेलम्चीको पानी वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको सुरुङबाट सिन्धुपाल्चोकस्थित यांग्र्री र लार्के खोलाको पानी ल्याउने दोस्रो परियोजनामा काम थाल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment