Comments Add Comment

दोधारमा प्रदीप नेपाल : ओलीलाई बोली, समर्थन माधव नेपाललाई

१० फागुन, काठमाडौं । पछिल्लो समय राष्ट्रिय राजनीतिमा कम सक्रिय प्रदीप नेपाल नेकपा विभाजनको पूर्वसन्ध्यामा चर्चामा थिए । संसद विघटन हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए र पूर्वएमाले मिलाइदिन आग्रह गरेका थिए ।

ओलीको आग्रहपछि प्रदीप नेपालले नेता माधवकुमार नेपालसँग कुरा पनि चलाए, तर ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भई छुट्टाछुट्टै गतिविधिमा सक्रिय भएको छ । प्रदीप नेपालको प्रयास असफल भयो ।

पार्टी विभाजन हुँदा गृहमन्त्री रामबहादुर थापासहित केही नेताले ओलीलाई साथ दिए पनि पूर्वमाओवादीहरु एकढिक्का नै छन् । पूर्वएमाले भने प्रचण्ड-माधव समूह र ओली समूहमा विभाजित भएको छ । नेता बामदेव गौतमले पनि छुट्टै अभियान सुरु गरेका छन् ।

नेकपा तीन समूह बन्दा प्रदीप नेपाल भने कुन समूहमा लाग्ने दोधारमा नै छन् । विभाजित नेकपामा उनको भूमिका प्रष्ट छैन । नेकपा प्रचण्ड-माधव समूहमा उनको नाम छ । बोली भने ओलीसंग मिलिरहेको छ ।

‘मैले माधव नेपालको पक्षमा नाम लेखाएँ, तर प्रचण्डजीलाई नेता मान्दिनँ’, उनी भन्छन् ।

किन ?

‘अहिलेको परिस्थिति नै त्यस्तै छ ।’

पुस ९ गते नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाएर नेपाललाई पार्टी अध्यक्ष बनाउने निणर्य गर्दा उनले समर्थन गरे । नवौं महाधिवेशन (२०७१) मा उनले ओलीलाई साथ दिएका थिए । त्यसयता ओलीको नेतृत्व शैलीमा निरन्तर प्रश्न उठाउँदै आएका थिए ।

माधव नेपाललाई वैधानिक समर्थन जनाए पनि उनी ओली समूहबाट टाढिन सकिरहेका छैनन् । पूर्वएमालेहरु एक ठाउँ हुनुपर्छ भन्ने मान्यताले उनलाई दोधारमा पारेको छ ।

आफ्नो पारा मन नपराएकै कारण ओलीले प्रदीप नेपाललाई न कुनै राजकीय भूमिका दिए न त पार्टी जिम्मेवारी । प्रदीपलाई सातमध्ये कुनै एक प्रदेश प्रमुख नियुक्त गर्न माधव नेपालले राखेको प्रस्तावलाई पनि ओलीले बेवास्ता गरेका थिए । ।

तत्कालिन एमाले माधव नेपालको नेतृत्वमा हुँदा प्रदीप नेपाल हर्ताकर्ता थिए, उनी माधवलाई नेता मान्छन् । अर्थात्, वैधानिकताका दृष्टिले प्रदीप नेपाल नेकपा प्रचण्ड-माधव समूहका हुन् ।

तर उनको सार्वजनिक अभिव्यक्ति हेर्दा ओलीलाई समर्थन गरेको देखिन्छ । माघ २९ मा प्रदीपले सामाजिक सञ्जालमा प्रश्न गरे- ‘प्रतिगमन भनेको के हो, साथी हो ?’ अर्थात्, उनी नेकपा प्रचण्ड-माधव समूहले भने जस्तो प्रतिनिधिसभा विघटनलाई प्रतिगमन मान्दैनन् । संसद् भंग गर्ने निणर्यप्रति असन्तुष्टि जनाए पनि उनी त्यसलाई प्रतिगमन मान्दैनन् ।

त्यसैले, माधव नेपाललाई वैधानिक समर्थन जनाए पनि उनी ओली समूहबाट टाढिन सकिरहेका छैनन् । पूर्वएमालेहरु एक ठाउँ हुनुपर्छ भन्ने मान्यताले उनलाई दोधारमा पारेको छ ।

पञ्चायतकालमा सञ्जय थापा उपनामबाट राजनीतिमा सक्रिय प्रदीप नेपाल पूर्वएमालेभित्र कुशल संगठक मानिन्छन् । पूर्वएमालेका दोस्रो पुस्ताका अधिकांश नेता प्रदीप नेपालका कार्यकर्ता हुन् ।

आफूले हुर्काएका नेताहरु सबै एकठाउँ उभिउन् भन्ने चाहनाले पनि पार्टी विभाजनमा प्रदीप नेपाल प्रष्ट हुन सकिरहेका छैनन् । उनी आगामी महाधिवेशनबाट आफूसहित कम्तीमा ५० नेताले सक्रिय राजनीतिबाट अवकाश लिँदा कम्युनिष्ट आन्दोलन गतिशील बन्छ भन्ने वकालत पनि गरिरहेका छन् ।

अलमल अरूमा पनि

विभाजित नेकपाको दुवै खेमाको अभियानमा सक्रिय नहुनेमा प्रदीप नेपाल जस्तै अरू नेता पनि छन् । गत माघ १४ गते वामदेव गौतमले राष्ट्रिय एकता अभियान घोषणा गरे । नेकपा एकताका लागि दबाव दिन यो अभियान चलाएको उनको भनाइ छ ।

पूर्वएमालेको नवौं महाधिवेशनमा ओलीलाई समर्थन गरेका गौतम नेकपा विभाजनको डिलमा पुग्दा माधव नेपाल संलग्न गठबन्धनमा थिए । अहिले उनी ६६६ सदस्यीय केन्द्रीय कमिटी बनाएर एकता अभियान चलाइरहेका छन् ।

अर्का नेता लालबाबु पण्डित आफू एकीकृत नेकपाकै पक्षमा रहेको बताउँछन् । सामान्य प्रशासन मन्त्री रहँदा डिभी र पीआर लिएका कर्मचारीविरुद्व उभिएर चर्चामा आएका पण्डित माधव नेपाल खेमाका नेता हुन् । तर, पार्टी विभाजनपछि निष्क्रिय बसेका उनी भन्छन्, ‘म फुटको विपक्षमा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment