
डिजिटल माध्यमको विकास भएसँगै हरेक क्षेत्रमा प्रतिभा भएका मानिसहरुले अवसर पाइरहेका छन् । यसैले, यहाँ कसको भाग्य कतीबेला चम्किन्छ भन्ने सकिने अवस्था छैन ।
सांगीतिक क्षेत्रमा १० बर्षसम्म संघर्ष गर्दा पनि नपाएको चर्चा गायक अलिफ खानले विगत केही महिनादेखि पाइरहेका छन् । कुनै समय उनको स्वरलाई कसैले पनि पत्याएनन् । अहिले उनलाई गीत रेकर्ड गर्नका लागि भ्याइनभ्याई छ ।
अलिफ चर्चामा आएपछि उनलाई थुप्रै गीतकार, संगीतकार तथा लगानीकर्ताले अफर गरे । अलिफले भने आफ्नो करिअरको सुरुवात संगीतकार अर्जुन पोखरेलसँग गर्ने इच्छा राखे । यसै अनुसार, अलिफको स्वरमा अर्जुनले २ वटा गीत रेकर्ड गराएका छन् । जसमध्ये एउटा गीतको भिडियो समेत सार्वजनिक भैसकेको छ ।
अर्जुनको संगीतमा अलिफले गाएको पहिलो गीत ‘छुँदिन म जाले रुमाल’ सार्वजनिक भयो । तर, गीतले भ्यूज अपेक्षा अनुसार पाएन । गीत सार्वजनिक भएको एक सातामा यो गीतलाई ५ लाख ५० हजार पटक हेरेका छन् । अलिफले पाएको लोकप्रियता र उनको चर्चा अनुसार, यो निकै कम भ्यूज हो ।
गायक अलिफ स्वयंमले गीतले अपेक्षा गरे अनुसारको भ्यूज नपाएको स्विकार गरेका छन् । तर, गीत फरक खालको भएको हुनाले भ्यूज अपेक्षा अनुसार नजान पनि सक्ने अड्कल आफूले पहिल्यै काटेको उनले बताए ।
अनलाइनखबरसँग कुरा गर्दै अलिफले भने–‘ हामीले जुन तरिकाले सोच्यौं । गीतमा जुन खर्च भएको छ । त्यो अनुसार भ्यूज नगएको पक्का हो । तर, सेमी क्लासिकल गीत भएको हुनाले यस्ता गीतहरु कमै मात्रामा सुनिने, कमै मात्रामा सार्वजनिक हुने गर्छन् । यस्तो गीतलाई बुझ्ने मान्छेले मात्र सुन्छन् । लोकदोहोरी, आधुनिक, पप गीतहरुमा जस्तो भ्यूज जाँदैन होला भन्ने बिषयमा पहिल्यै कुरा भएको थियो ।’
अलिफले आफूले हरेक प्रकारको गीत गाउन सक्छु भन्ने विश्वास दिलाउन पनि सुरुवातमै सेमी क्लासिकल गीत गाएको बताए ।
उनले अगाडि भने–‘खासमा मैले अर्को गीत रोेजेको थिएँ । तर अर्जुन दाईले पहिले छुँदिन म जाले रुमाल गीत गाउनुपर्छ, यसबाट तिम्रो क्षमता पनि देखिन्छ भनेपछि यो गीत रोजेको हुँ ।’ अलिफले अर्जुनको संगीतमा गीत गाउन पाउँदा खुसी लागेको बताए । अर्जुनको संगीतमा अलिफले समीक्षा अधिकारीसँग गाएको ‘बनैमा मनैमा’ बिहीबार सार्वजनिक हुँदैछ ।
प्रतिक्रिया 4