Comments Add Comment

कोइला ढुवानी र कवाड व्यवसायलाई व्यवस्थित बनाउन वीरगञ्जवासीको माग

११ फागुन, वीरगञ्ज । ०७७ फागुन ३ गते बिहान वीरगञ्ज महानगरपालिका-१६ का बासिन्दाले औद्योगिक कच्चा पदार्थ ढुवानी गर्ने ट्रकलाई राकेर चालकलाई सम्झाउँदै थिए- ओभरलोड नबोकिदिनुस्, क्लिंकर, कोइला आयात गर्दा राम्रोसँग छोपेर ढुवानी गर्नुस्, ढालाभन्दा माथिसम्म हालेर ढुवानी नगरिदिनुस् …।

बिहान ११ बजदेखि १२ बजेसम्म एक घण्टा उनीहरुले त्यसरी नै सम्झाए ।

वीरगञ्ज भन्सार कार्यालय हुँदै हुने औद्योगिक कच्चा पदार्थ पत्थर कोइलाको अव्यवस्थित ढुवानीले स्वास्थ्यमा नै असर पार्न थालेपछि उनीहरु जागरुक भएका हुन् । पत्थर, कोइला, क्लिंकर लगायतका डष्टी औद्योगिक कच्चापदार्थ सिमावर्ती शहर रक्सौलसम्म रेलमार्गबाट आउने गरेको छ । त्यसपछि ढुवानीकर्ताहरुले ट्रक, टिप्परमा लोड गरेर सम्बन्धित उद्योग गोदामसम्म लैजाने गरेका छन् ।

ढालाभन्दा माथिसम्म राखेर लैजाँदा छोपेरै लगे पनि कच्ची सडक भएका कारण वीरगञ्ज भन्सार क्षेत्रमा सडकमै खस्छ । जसले गर्दा स्थानीयले सास्ती भोग्नुपरिरहेको छ ।

स्थानीय मात्रै होइन, देशकै मुख्य प्रवेशद्वार हुँदै ओहोरदोहोर गर्ने सबै मानिसहरु, भन्सार क्षेत्रमा खोलिएका होटलहरु, त्यहाँ तैनाथ सुरक्षाकर्मी र भन्सार कार्यालयका कर्मचारीहरु समेत कालो धुलो खान बाध्य छन् ।

भन्सार क्षेत्रमा खोलिएका अस्पतालका विरामी, विरामी कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी समेत प्रभावित छन् । भन्सार क्षेत्रमा इन्डो नेपाल अस्पताल, किरण आँखा अस्पताल, केडिया डेन्टल कलेज लगायत अस्पताल सञ्चालनमा छन् ।

स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै स्थानीय चिन्तित

पत्थर कोइला ढुवानीमा देखिएको लापरवाहीले प्रदुषण बढेर स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै स्थानीय चिन्तित छन् । त्यसको नियन्त्रण तथा रोकथामका लागि भन्सार क्षेत्रका बासिन्दा एकजुट भएका छन् । स्थानीय लालदेव प्रसाद यादवको अध्यक्षतामा भन्सार एरिया टोल सुधार समिति गठन गरेर सक्रियता देखाएका छन् । सोही क्रममा उनीहरुले पहिलो चरणमा ट्रक, टिप्पर चालकलाई सम्झाएका हुन् ।

ट्रक, टिप्परबाट खसेको कोइला, पत्थरको धुलो बाटोमा खस्ने मात्रै हैन, हावाले उडाएर सडक छेउछाउको घरघरमा पुर्‍याउने गरेको टोल सुधार समितिका उपाध्यक्ष फरिद आलम बताउँछन् ।

उनले भने, ‘बाहिर निस्केर घर फर्केपछि लगाएको कपडा पानीमा राख्दा पानी कालो हुन्छ । कोइला, पत्थरको अव्यवस्थित ढुवानीले हामी स्थानीय त मर्कामा छौं, छौं, वीरगञ्ज नाका हुँदै दैनिक हजारौं मानिसहरु, यस क्षेत्रमा अस्पतालहरु, अस्पतालमा भर्ना भएका विरामी उनीहरुका कुरुवा सबै प्रभावित छन् ।’

सवारी चालकहरुलाई सम्झाउँदा समस्या समाधान नभएपछि १० फागुन सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको भन्सार एरिया सुधार समितिका अध्यक्ष लालदेव प्रसाद यादव बताउँछन् ।

‘औद्योगिक कच्चापदार्थ कोइला, क्लिंकर ट्रकमा ओभरलोड हालेर ल्याउँछन्, दैनिक सयांैको संख्यामा भित्रिने त्यस्ता ट्रकबाट खस्ने धुलोका कारण जनजीवन प्रभावित छ,’ उनले भने ‘एक साताअघि रजत जयन्ती चोकमा ट्रक रोकेर सम्झाएका पनि हौं, तर पनि अवस्थामा सुधार आएन । त्यसैले प्रशासनको ध्यानाकर्षण गराएका छौं ।’

ट्रकमा ओभरलोड हालेर ओसार्ने, त्रिपालले नछोपी ढुवानी गर्ने जस्ता लापरवाहीपूर्ण क्रियाकलापले गर्दा धुलो उडेर आवागमनमा समस्या भइरहेको उनी बताउँछन् ।

‘सडक जीर्ण छ, कोइला पत्थरको ढुवानी अव्यवस्थित छ । सडकमा पानी समेत हाँलिदैन,’ उनले भने, ‘सडकमा सवारी आवागमनका क्रममा धेरै धुलो उड्छ, घर घरमा धुलो पुग्छ, स्वास्थ्यमा गम्भीर असर परिररहेको छ । यसको ढुवानी व्यवस्थित हुनुपर्छ ।’

उनले डष्टी औद्योगिक कच्चा पदार्थ ढुवानी व्यवस्थित नभए ढुवानी नै ठप्प पार्ने तयारीमा आफूहरु लागि परिरहेको जानकारी दिए ।

समस्या समाधानमा स्थानीय प्रशासनको चासो

जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार उपस्थित ढुवानी व्यवसायीहरुले शनिबारसम्ममा ढुवानी व्यवस्थित गर्ने आश्वासन दिएका छन् । ज्ञापनपत्र मार्फत स्थानीयको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले औद्योगिक कच्चा पदार्थ ढुवानी व्यवसायीसँग छलफल गरेका थिए ।

प्रजिअ तामाङले औद्योगिक कच्चा पदार्थ कोइला लगायत ढुवानी गर्दा मापदण्ड पालना नगरी वातावरण प्रदुषण गरेको गुनासो आएपछि आफूले चासो लिएको बताए ।

‘कसैले कुनै पनि बहानामा वातावरण प्रदुषण गर्ने र जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गतिविधि गर्नु गैरकानुनी हुन जान्छ । भन्सार क्षेत्रका बासिन्दाको गुनासो आएपछि प्रारम्भिक चरणमा छलफल गरेका छौं,’ उनले भने, ‘कोइला लगायत औद्योगिक कच्चा पदार्थ ढुवानीकर्तालाई ओभरलोडलाई व्यवस्थापन गर्न र मितेरी पुल लगायतका ठाउँमा गरिएको स्टोरको विकल्प खोज्न भनेका छौं ।’

सडक सफा राख्नका लागि पानी हाल्नुपर्ने हुन्छ त्यसका लागि आवश्यक समन्वय गर्न पनि निर्देशन दिएको उनले बताए । अटेर गरेको खण्डमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

व्यवसायी भन्छन्- कोइला बहाना हो, मुख्य समस्या जीर्ण सडक

वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण कार्यालय वीरगञ्जका अनुसार प्रदेश २ मा कोइला, क्लिंकर, जिप्सम लगायत बस्तुको खरिद बिक्रीका लागि पर्सामा २ सय ३२ वटा र्फम दर्ता छन् । नागरिकता, फोटो र दस्तुर लिएर आएपछि यस्ता र्फमहरु सजिलै दर्ता हुन्छन् र कारोबार गर्न पाउँछन् ।

वीरगञ्ज भन्सार कार्यालयको प्रमुख रुपमा पैठारी हुने २० वटा मालबस्तुको सूचीमा पत्थर कोइला पनि एक हो ।

राजश्वमा समेत यसको मुख्य योगदान रहँदै आएको छ । चालु आर्थिक वर्ष ०७७/७८ को माघसम्म १ अर्ब ५१ करोड १२ लाख ०७ हजार रुपैयाँ बराबरको १२ करोड १६ लाख ८० हजार ७ सय ५५ किलो पत्थर कोइला आयात भएको छ । जसबाट वीरगञ्ज भन्सार कार्यालयले २८ करोड १८ लाख ७३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

पत्थर कोइला ढुवानी गरेर ढुवानीकर्ताले लाभ लिने, भन्सारले राजश्व संकलन गर्ने, उद्योग त त्यसैबाट सञ्चालन नै हुने भयो तर धुलोको मारमा भने सर्वसाधारण पर्दै आएका छन् ।

डष्टी औद्योगिक कच्चा पदार्थको अव्यवस्थित लोड अनलोडका कारण स्वास्थ्यमा गम्भीर असर परेको भन्दै रक्सौलका बासिन्दाले समेत विरोध जनाएका थिए ।

रक्सौलबाट ल्याएर वीरगञ्जका विभिन्न स्थानमा लोड अनलोड गर्ने उद्योगसम्म पुर्‍याउने गरिएको छ । भण्डारण गरिएको ठाउँ खुल्ला हुन्छ । हावा हुरी आउँदा भण्डारण गरिएको ठाउँबाटै उडाएर चारैतिर पुग्छ । आसपासका गाउँ बस्तीका मानिसहरुले सास्ती खेप्नुपर्ने हुन्छ ।

तर वीरगञ्जका उद्योगी व्यवसायी यो तितो सत्यलाई स्वीकार्न तयार छैनन् । उनीहरु धुलो कोइला पत्थरका कारण नभई जीर्ण सडकका कारण उडेको तर्क गर्छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले भने कोइला त्रिपालले छोपेरै ढुवानी भइरहेको बताए । उनी सडकको दुरावस्थाका कारण समस्या सृजना भएको बताउँछन् ।

‘कोइला नेपालमा मात्रै हैन, भारत लगायत अन्य देशमा पनि खुल्ला रुपमा नै राखिन्छ । रक्सौलबाट ढुवानी गर्दा ठूला त्रिपालले ढाकेर ढुवानी गर्ने गरिएको छ । सडक जीर्ण भएका कारण धुलोको समस्या आएको हो,’ उनले भने, ‘विहान बेलुका पानी हालेर मात्रै समस्या समाधान हुँदैन, भन्सार क्षेत्रको सडक कालोपत्रे हुनुपर्छ ।’

बर्सेनी ग्राभेल हालेर खाल्डाखुल्डी पुरेर मात्रै समस्याको समाधान नहुने सडक कालोपत्रे गनुपर्ने तर्क उनको छ ।

कवाडी व्यवसाय र अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न माग

भन्सार क्षेत्रमा खुलेका अस्पतालहरुबाट निस्कने संक्रमित फोहोरहरुको व्यवस्थापन गर्न समेत माग गरेका छन् । स्लाइनका बोतल, सिरिन्ज, पाइपहरु जथाभावी फाल्ने गरिएको उनीहरुको भनाइ छ ।

त्यस्तै भन्सार क्षेत्रमा सञ्चालित कबाडी व्यवसायीहरुका कारण समेत टोल सफा हुन नसकेको उनीहरुको निष्कर्ष छ । वीरगञ्ज- १६ वैष्णोदेवी मन्दिर, भन्सार क्षेत्रदेखि भुटनदेवी मन्दिरसम्म कवाडका समान भण्डारण गर्ने, फोहोरको थुप्रोबाट संकलित संक्रमित प्लाष्टिकका वस्तुहरुको कारण पनि स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।

कवाड संकलन केन्द्र बन्द गराउन र त्यस क्षेत्रको सरसफाइ गराउन वडा कार्यालयमार्फत उनीहरु वीरगञ्ज महानगरको ध्यानाकर्षण समेत गराएका छन् । समितिले माघ २४ गते वडा कार्यालयको ध्यानाकर्षण गराएपछि वडा कार्यालयले माघ २७ गते महानगरपालिकालाई जानकारी गराएको छ ।

‘भन्सार क्षेत्रमा न त महानगरपालिकाले सरसफाइ गर्छ, न त सडकमा नालाको व्यवस्था छ । त्यसमाथि कवाड संकलन केन्द्रले दुर्घन्धित बनाएको छ,’ सुधार समितिका अध्यक्ष यादव भन्छन्, ‘यस्ता कवाड संकलन केन्द्रहरु अवैधरुपमा सञ्चालनमा आएको जानकारी पाएका छौं, आवश्यक अनुसन्धान र कारबाही होस् भने महानगरपालिकाको ध्यानाकर्षण गराएका हौं ।’

सरसफाइ व्यवस्थापन शाखाका प्रमुख राजिव सिंहले स्थानीयको गुनासो आएपछि स्थलगत निरीक्षण गर्नुको साथै कवाड संकलन गर्ने व्यवसायीहरुलाई सम्झाइएको बताए ।

उनले जथाभावी फोहोर नगर्न अनुरोध गरिसकेको बताउँदै अटेर गरे कानुनी कारबाही प्रक्रियाअघि बढाउने तयारी भइरहेको बताए  । ‘स्थलगत निरीक्षण गरेर सम्झाएका छौं, नगर प्रहरी खटाएर प्रदुषण गर्नेहरुको पहिचान गरेर ल्याउन भनेका छौं,’ उनले भने, ‘आग्रहलाई अटेर गर्छन् भने कारबाही गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment