Comments Add Comment

डा. केसीको अनशन स्थगित

१२ फागुन, काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित गरिएको केसीले बताएका छन् । तर आफूसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् ।

डा. केसीले प्रतिनिधिसभा पुनर्स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट पार पाइनसकेको भन्दै उनले अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओलीको जस्तै रहने हो भने अवस्थामा खासै परिवर्तन नआउने बताएका छन् ।

‘पछिल्ला ३ वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन’ उनले भनेका छन् ।

केसीले प्रधानमन्त्री ओलीले राज्य कब्जाको प्रयासस्वरुप संवैधानिक निकायहरुमा गलत नियुक्ति गरेको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् । ‘संवैधानिक निकायमा गलत नियुक्ति हुँदा देशले कत्रो मूल्य चुकाउनुपर्छ भन्ने त यसअघि लोकमान सिंह कार्की प्रकरणमा हामी सबैले देखिसकेका छौं । ती निकायहरुको गरिमा फर्काउन अब सही बाटोबाट योग्य व्यक्तिहरुको नियुक्ति गर्नुको विकल्प छैन’ उनले भनेका छन् ।

केसीले २०५२ सालपछिको अवधिमा सांसद किनबेचसहित विकृत गठबन्धन राजनीतिको अभ्यास दोहोरिन नदिन पनि सचेत गराएका छन् । ‘अब जुनसुकै सरकार आए पनि त्यसलाई निरन्तर खबरदारीसहित उत्तरदायी बनाउनु नागरिकका रुपमा हामी आफ्नो कर्तव्य सम्झन्छौं ‘ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment