 
																			भारतीय सहयोगमा दक्षिणकालीको चम्पादेवी मावि पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभाग प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले दक्षिणकाली नगरपालिकास्थित चम्पादेवी माध्यमिक विद्यालय पुनर्निर्माणका लागि भूमि पूजन गरेका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवं स्थानीय समुदायका सदस्यहरूको उपस्थिति थियो ।
भारतीय दूतावासका अनुसार शिक्षाको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने यो ६६औँ विद्यालय हो । नेपालका आठ जिल्लामा कुल ७१ शैक्षिक संस्थाहरूको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । योबाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २० करोड आर्थिक सहयोग गर्ने प्रतिबद्घता पनि गरिसकेको छ ।
६ करोड ८५ लाखको लागतमा पुनर्निर्माण हुन लागेको चम्पादेवी मावि नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्डअनुरूप निर्माण हुनेछ । नवनिर्मित संरचनामा दुईवटा ब्लक रहनेछन् जसमा १३ वटा कक्षाकोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तलामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाइ संरचना रहनेछन् । यी विद्यालयको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।
दूतावासका अनुसार ०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र एक सय ४७ वटा स्वास्थ्य भवनको निर्माणका लागि दूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4