
१३ फागुन, काठमाडौं । अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले अफगानिस्तानको सरकार र अमेरिकाले गत वर्ष दोहामा भएको सम्झौताको पालना नगरेको आरोप लगाएको छ । अहिले लामो समयसम्म शान्ति वार्ता जारी रहे पनि उनीहरुले कैदीबन्दी रिहा गर्ने र विदेशी सेना फिर्ता गर्नेजस्ता विषयमा अफगानिस्तान र अमेरिका प्रतिबद्ध नदेखिएको तालिबानले बताएको छ ।
अलजाजिरासँग कुरा गर्दै तालिबानका एक शीर्ष अधिकारीले शान्ति वार्ता सुरु भएको तीन महिनामा सबै तालिबानी कैदीहरु रिहा हुनुपर्नेमा पछिल्लो पाँच महिनायता तालिबानका कुनै पनि कैदीहरु रिहा नभएको बताए । नाम नबताउने शर्तमा ती तालिबानी नेताले यसको प्रमुख कारक अफगानी राष्ट्रपति असरफ घानी रहेको बताए ।
अमेरिकामा सत्ता परिवर्तनपछि मंगलबार अफगानिस्तानको सरकार र तालिबानबीच वार्ता सुरु भएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडनले गत वर्ष तालिबानसँग भएको सम्झौताबारे पुनर्विचार गरिरहेका छन् । उनले अफगानिस्तानमा युद्ध अन्त्य गर्ने विषयमा सहमति जनाएपनि अमेरिकी सेना फिर्ताको विषयमा भने असन्तुष्टि जनाएका छन् । गत साता तालिबानले अमेरिकालाई खुला चिठी लेख्दै आफ्ना सेना फिर्ता गर्न आग्रह गरेको थियो ।
प्रतिक्रिया 4