News Summary
Generated by OK AI. Editorially reviewed.- एसियाडमा नेपाललाई कांस्य पदक दिलाएका कराते खेलाडी तेञ्जिङ शर्पाले सरकारले दिएको पुरस्कार रकम आधा मात्र पाएपछि असन्तुष्टि जनाएका छन् ।
- तेञ्जिङले छनोट प्रक्रिया पूरा गरेर देशको प्रतिनिधित्व गर्दा पनि पदक जित्ने खेलाडीबीच फरक व्यवहार गरिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका छन् ।
- खेलकुद नियमावलीअनुसार व्यक्तिगत कांस्यका लागि १३ लाख पाउने व्यवस्था भए पनि छनोटबिनै पदक जित्ने खेलाडीलाई आधा रकम मात्र दिने प्रावधान छ ।
२९ असोज, काठमाडौं । २०औं एसियन गेम्स (एसियाड)मा नेपाललाई कांस्य पदक दिलाएका करातेका तेञ्जिङ शर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टी जनाएका छन् ।
तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा (कर कटाएर) पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत एउटै प्रतियोगितामा देशका लागि पदक जित्ने खेलाडीबीच नै फरक व्यवहार भएको उल्लेख गरेका छन् । ‘मैले कुनै वाइल्ड कार्डमार्फत वा छनोटबिनै एसियन गेम्स खेलेको भए पनि एउटा कुरा हुन्थ्यो । तर मैले नेपालमा भएको छनोट प्रक्रिया पूरा गरेर, छनोट भएर देशको प्रतिनिधित्व गरेको हुँ । देशका लागि खेल्दा हाम्रो मेहनत, त्याग र जितको मूल्य किन फरक हुनुपर्छ?,’ उनले प्रश्न गरेका छन् ।
आफुलाई पैसाभन्दा पनि आफ्नो मेहनत र आफ्नो पदक को सही मूल्याङ्कन होस् भन्ने चाहना रहेको तेञ्जिङले बताए । ‘नियम बनाउने र लागू गर्ने सम्बन्धित व्यक्तिहरूलाई मेरो विनम्र प्रश्न छ—के खेलाडीलाई यसरी छुट्याउनु उचित हो ? देशका लागि एउटै प्रतियोगितामा खेल्ने, एउटै खेलकुद , एउटै झण्डामुनि खेलेर पदक जित्न एउटै सपना देख्ने खेलाडीलाई पुरस्कार दिने बेलामा फरक नजरले हेर्नु कत्तिको न्यायसंगत छ ?’ उनले लेखेका छन् ।
पदकको सम्मान र मूल्याङ्कनबारे प्रश्न गर्नुपर्दा मन खिन्न भएको तेञ्जिङले उल्लेख गरे । ‘हामीले देशका लागि पदक जित्दा गर्व महसुस गरेका थियौँ। आज त्यही पदकको सम्मान र मूल्याङ्कनबारे प्रश्न गर्नुपर्दा मन अलि खिन्न भएको छ,’ उनले लेखेका छन्, ‘आशा छ, सम्बन्धित निकायले मेरो भावनालाई बुझेर यस विषयमा न्यायोचित निर्णय लिनुहुनेछ ।’
जापानको आइची-नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म भएको २०औं एसियाडमा नेपालका लागि करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टिमले कांस्य पदक जितेका थिए ।
खेलकुद नियमावली अनुसार व्यक्तिगतर्फ कांस्य जित्ने खेलाडीले १३ लाख पाउने उल्लेख छ । तर छनोट नभई एसियाडमा पदक जित्ने खेलाडीले भने त्यसको आधा रकम मात्र पुरस्कार पाउने व्यवस्था गरिएको छ । जसले गर्दा तेन्जिङले देशका लागि कांस्य पदक जितेपनि तोकिएको भन्दा आधार मात्र पुरस्कार पाए ।
यस्तै समूह खेलतर्फ पदक जितेका कबड्डी टिमका हरेक खेलाडीले ३ लाख ९० हजार पाउनेपर्नेमा त्यसको आधा मात्र पुरस्कार पाएका छन् ।
यसपटक सरकारले एसियाडमा जितेको पदकको पुरस्कार चाँडै खेलाडीको खातामा जम्मा गरिदिएपनि पदक विजेता खेलाडीहरु पनि आफूले पाएको पुरस्कार रकमबाट सन्तुष्ट हुन सकेका छैनन् ।
प्रतिक्रिया 4