News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल मंसिर १२ गते नेपालगन्जमा हुने १२औं नेपालगन्ज म्याराथनमा दौडिने भएकी छन् ।
- आयोजकका अनुसार ढकालले परोपकारी कार्यका लागि क्यान्सर पीडित र जलवायु सचेतनाका लागि आर्थिक सहयोग जुटाउन दौडिनेछिन् ।
- नेपालगन्ज म्याराथनमा ४२ किलोमिटरदेखि २ किलोमिटर फेमिली रनसम्म १२ विधा समावेश गरिएको छ ।
२९ असोज. नेपालगन्ज । मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल मंसिर १२ गते नेपालगन्जमा हुने १२औं नेपालगन्ज म्याराधनमा दौडिने भएकी छिन् ।
तेक्वान्दोकी ब्ल्याकबेल्ट र म्याराथन धाविका समेत रहेकी ढकाल नेपालगन्ज म्याराथनको १२औं संस्करणमा परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन उनी दौडिन लागेकी आयोजकले जनाएको छ ।
उनीसँग विश्व प्रतिष्ठित स्ट्यान्डर्ड चाटर्ड हङकङ म्याराथनको अनुभव छ । नेपालगन्ज म्याराथनमा कति किलोमिटर दौडिने बिषयमा भने उनले चाँडै जानकारी गराउने बताएकी आयोजकले जनाएको छ ।
आयोजकका अनुसार नेपालका कुनै पनि म्याराथनमा मिस नेपाल दौडिन लागेको यो सम्भवतः यो पहिलोपटक हो । यद्यपी विद्यार्थी, युवा र समाजलाई प्रेरित गर्न मिस नेपाल हरेक वर्ष नेपालगन्ज म्याराथनमा आमन्त्रित हुने गरेका छन् ।
स्वस्थ समाज निर्माण गर्ने जागरण अभियानमा नेपालगन्ज म्याराथन र द हिडेन ट्रेजरबीच मिस नेपाल वर्ल्ड स्वतः नेपालगन्ज म्याराथनको सदभावना दुत हुने समझदारी छ । गत वर्ष पनि मिस नेपाल वर्ल्ड २०२५ लुना लुँइटेल र मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधानले अनौपचारिक रुपमा पाँच किलोमिटर दौड पुरा गरेका थिए ।
यसवर्ष स्वयं मिस नेपाल वर्ल्ड दीपमालाले परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन दौडिन तयार भएकी हुन् । परोपकारी कार्यका लागि दौडिने विश्वव्यापी प्रचलन रहेको छ ।
संसारका प्रतिष्ठित म्याराथनहरुमा विभिन्न एनजिओ, कर्पोरेट घरानाहरुले च्यारिटीका लागि दौडिदै ठुलो रकम जुटाउने, धावकलाई सघाउने र सम्बन्धित क्षेत्रमा सेवा प्रदान गर्ने गर्दछन् । मिस नेपाल वर्ल्ड दीपमाला भने क्यान्सर पिडितका लागि सहयोग गर्न र जलवायु सचेतनाका लागि दौडिने बयोजकले जनाएको छ ।
स्थानीय बीपी चोकबाट सुरु हुने म्याराथनअन्तर्गत ४२ किलोमिटर पुरुष खुल्ला, २१ किलोमिटर महिला खुल्ला, १० किलोमिटर पुरुष खुल्ला, १० किलोमिटर महिला खुल्ला, ५ किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र छात्रा दौड, ३ किमी कर्पोरेट रन, ३ किमी किड्स रन, ३ किमी ह्वीलचेयर रन, २ किमी फेमिली रन र ३ किमी रन फर अल गरेर १२ विधा समावेश गरिएको छ ।
नेपालगन्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सन्चालन हुँदै आएको दौड हो । कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो । एघार बर्षे सशत्र द्धन्द्ध विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्जले म्याराथन यात्रा सुरु गरेको हो ।
बहुल जाति, धर्म र सम्प्रदायको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सदभाव र एकताको मालामा गाँस्ने प्रभावशाली माध्यमका रुपमा म्याराथन विधालाई लिएर सुरु गरिएको नेपालगन्ज म्याराथनसँग अहिले करिब एक दर्जन भगिनी इभेन्ट सन्चालनमा छन् । त्यस्तै, लोकतन्त्रमा संवाद बहसलाई अपरिहार्य महसुस गरेर नेपालगन्ज डिस्कोर्सको शृंखला नेपालगन्ज कनक्लेवका ६ संस्करण संचालन भइसकेका छन् । यस वर्ष कनक्लेवमा युवा र खेलकुद विषयमा मिस नेपाल वर्ल्डमा दीपमाला वक्ताका रुपमा समेत उपस्थित हुनेछिन् ।
प्रतिक्रिया 4