Comments Add Comment

क्यानजेन उपत्यका : प्रकृतिको उपहार (फोटो फिचर)

काठमाडौं । सन् २०१७ मा न्यूयोर्क टाइम्सले लाङटाङलाई ‘घुम्नैपर्ने विश्वका ५२ ठाउँहरु’ माध्येमा सूचीकृत गरेको थियो । हुन पनि प्रकृतिको विराट उपहार हो लाङटाङ । रसुवा जिल्लास्थित यो गन्तव्य तिब्बतको सीमावर्ती क्षेत्रमा छ ।

यो त्यही ठाउँ हो, जहाँ २०७२ को विनासकारी भूकम्पमा हिमपहिरो जाँदा सिंगो बस्ती नै पुरिएर नामेट भएको थियो । कहिल्यै नपुरिने खोट बोकेर पनि उत्तिकै हार्दिकताका साथ आगन्तुकको पर्खाइमा छ लाङटाङ ।

अद्भूत हिमाली सौन्दर्यलाई पृष्ठभूमिमा राखेर लाङटाङले दुर्लभ वन्यजन्तुलाई आश्रय दिएको छ । शिरमा भीमकाय चट्टाने पहाड र काखमा समतल लेकाली खर्कको अनुपम संयोजनले यो भूगोललाई ‘स्वर्ग’ बनाएको छ ।

क्यान्जेन उपत्यका यही भूगोलभित्र समेटिएको अर्को प्राकृतिक-शिल्प हो । यसलाई हिमाली उपत्यकाको उपमा दिन सकिन्छ । चारैतिर हिम चुचुराले घेरेको क्यान्जेन उपत्यकाले विराट सौन्दर्यलाई आफ्नो गर्भमा समेटेको छ । त्यसो त प्राचिन धरोहर र धार्मिक आस्थाको संगमस्थल पनि हो ।

यहाँ अवस्थित क्यनजेन गुम्बा ७ सय वर्ष पुरानो रहेको बताइन्छ । यही गुम्बाको नामबाट उपत्यकाको न्वारान गरिएको हो । क्यानजिङ गुम्बा लाङटाङ उपत्यकाको सबैभन्दा बढी उचाईमा रहेको मानव वस्ती पनि रहेछ । चिसो सिरोटोले हरदम स्पर्श गरिरहने क्यानजेन उपत्यका समुन्द्री सतहबाट तीन हजार ८ सय ५० मिटर माथि छ । लाङटाङ हिमाल हेर्नका लागि यो सबैभन्दा उपयुक्त स्थल पनि हो । यो विन्दुबाट दोर्जे लाक्पा, लिरुङ, जुल,गाङछेम्पो जस्ता हिमाललाई नजिकबाट नाङ्गो आँखाले नियाल्न सकिन्छ ।

लेकाली खर्क, कन्चन खोलानाला, त्रिभूज आकारका टाकुरा अर्थात यहाँको भू-बनौट साहसिक पदयात्राका रोज्जा मानिन्छ । त्यसो त काठमाडौंदेखि नजिकको एक प्रमुख पदयात्रा पनि हो यो । हिमाली दृश्यहरु साक्षतकार गर्दै लेकाली भन्ज्याङ छिचोल्नुको विछट्टै आनन्द हुन्छ । क्यानजेनलाई गन्तव्य बनाएर स्याफ्रुङबेसीबाट पदयात्रा थालनी गर्न सकिन्छ । यो पदयात्रामा सात हजार २ सय ४६ मिटर उचाइको लाङटाङ हिमालसँगै नेपाल र तिब्बतका दर्जनौ हिमशृंखला नियाल्न सकिन्छ । क्यान्जेन उपत्यका हरदम आगन्तुकको स्वागतार्थ मुस्कुराइरहेको अनुभूत हुन्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने क्यानजेन उपत्यका कुनैबेला स्वदेशी-विदेशी आगन्तुकले भरिभराउ हुन्थ्यो । अहिले भने यहाँको पर्यटन केही सुस्ताएको छ । पर्यटनका लागि आवश्यक पूर्वाधार भएर पनि क्यानजेन उपत्यकाले अपेक्षाकृत पाहुन भित्र्याउन सकेको छैन । लाङटाङको फन्को लगाउँदै क्यानजेन उपत्यकासम्म पैदल यात्रा गर्न एक हप्ताको समय लाग्न सक्छ ।

क्यानजेन उपत्यकाबाट हेलम्बुसम्मको अर्को पदयात्रा गर्न सकिन्छ । गञ्जल पास हुँदै हेलम्बुसम्म यात्रा गर्न भने अरु तीन दिन समय लाग्नसक्छ ।

तर हामी भने पदयात्रा नगरेर हेलिकप्टमा क्यानजेन भ्याली पुगेका हौं । काठमाडौंदेखि ४५ मिनेट लाग्छ क्यानजेन पुग्न । एक पटक ५ जना जान मिल्ने भएकाले हामी ५ जना सपरिवार क्यानजेन जाने योजना बनायौं । पेसाले म पर्यटन व्यवसायी भएका कारण पनि त्यहाँको भौगोलिक अवसथासहित के कस्ता सुविधाहरु रहेका छन् बुझ्ने मौका मिल्यो । अर्कोतर्फ परिवारसहित जादा निकै रमाइलो हुने भएकाले सपरिवार जाने सोच भयो ।

अझ क्यानजेनको बारेमा मैले धेरै सुनेको थिएँ । तर, प्रत्यक्ष पुगेको भने पहिलो पटक हो । जाने मन भए पनि व्यस्थताका कारण जाने मौका मिलेको थिएन । अहिले कोभिडका कारण विदेशी पर्यटकहरु चहलपहल कम भएसँगै मेरो व्यस्थता पनि कम भयो । यही मौका छोपेर सपरिवार हेलीमा क्यानजेन यात्रा गर्ने मौका मिल्यो ।

सामान्यतया विगतका वर्षहरुमा वर्षभरि नै देशभर बाह्य तथा आन्तरिक पर्यटकहरु देशका विभिन्न जिल्लाहरुमा पदयात्रा तथा पर्यटन क्षेत्रका कार्यहरुका लागि व्यस्त रहिरहने गर्दथिए । हाम्रो टाभल कम्पनी एक्सपोलर डोल्पा टेकिग कम्पनी देशभर पर्यटन क्षेत्रमा पर्यटन क्षेत्रमा क्रियाशील रहने गर्दछ । अझ भन्नु पर्दा पश्चिम नेपालसहित कर्णाली जिल्लामा बढी केन्द्रित रहेको छ ।

कोभिडका कारण अहिले विदेशी पर्यटक नआएकाले अहिले अलिक फुर्सद रहेको छ । यही फुर्सदको मौका छोपी म, मम्मी, जीवसंगीनी, छोरा र छोरीसहित क्यानजेनमा हेलीमा घुम्न मौका मिल्यो ।

देशका विभिन्न क्षेत्रमा यात्रा गरेता पनि क्यानजेन मेरा मात्र नभएर परिवारको पनि पहिलो यात्रा हो । विविध कारणले विगतमा चाहेर पनी परिवारसहित हिमाली क्षेत्रमा यात्रा गर्न सकेको थिएन । यही कोभिडले मेरो यात्रा जुरायो ।

हुन त म हिमाली जिल्ला डोल्पामा जन्मे हुर्केको भए पनि परिवारसहित यसरी आफ्नो जिल्ला बाहेक हिमाली जिल्ला जाने मौका मिलेको थिएन । यही मौका जुरायो अहिले क्यानजेन हेली टुरले । जब क्यानजने हेली टुरमा मसहित सपरिवार पुग्यौं । मैले सोचेभन्दा निकै रमाइलो तथा आन्नददायी यात्रा भयो । जब हामी काठमाडौंबाट क्यानजेभ भ्याली पुग्यौं । अनि आफूमा भएका सबै तनावहरु कम भएको अनुभूति भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment