
काठमाडौ । सुरेश बडालको कथासंग्रह ‘रहर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक समारोहमार्फत पुस्तक लोकार्पण गरिएको हो ।
कार्यक्रममा लेखक अमर न्यौपानेले जतिसकै नाम र दाम कमाए पनि बाल्यकालजस्तो मिठो जीवन अरू नहुने बताए । चाहे बाल्यकाल जतिसुकै अभावमा होस्, त्यो अति प्रिय हुने उनको भनाइ छ ।
‘रहरमा धेरैजसो कथा बाल्यकालका यस्तै मिठा र अबोध मनोविज्ञानले भरिएका छन्,’ उनले भने,‘सेतो कागजजस्तो जीवनमा भर्खर केही लेखिँदै गर्दाका घटनाहरू, भर्खर पलाउँदै गरेको पालुवामा केही रङ भरिँदैै गर्दाका ऋतुहरूले थाहै नपाउनेगरी जीवनमा कसरी उतारचढाव ल्याइदिन्छन् भन्ने अनेक घटना कथाहरुमा छन् ।’
कार्यक्रममा पोलिटिकल लिटरेसी फर वुमनकी अध्यक्ष प्रकृति भट्टराई बस्नेतले हरेक जीवन सामान्य रहे पनि हरेक व्यक्तिलाई आफ्नो जीवन अनि भोगाइ असामान्य लाग्ने बताइन् । ‘रहर पढ्दा महसुस हुन्छ, यी सबै कथामा म छु अनि मेरा अनुभव पनि छन्,’ उनले भनिन्, ‘मैले असामान्य मानेका मेरा भोगाइ मैले मात्र भोगेकी होइन रहेछु । मैले सोचेका असामान्य घटना सामान्य रहेनछन् ।’
यस्तै नेपालमा लेखक अत्यन्त कम रहेको र त्यसमा पनि राम्रो लेख्नेहरू झनै कम रहेको फाइनप्रिन्टका अजित बरालले बताए । उनले भने , ‘बडालका कथा खाना खाएपछि मुख मिठ्याउन लिइने ‘डिर्जट’ जस्ता छन्— पाठकका स्वादमा बस्ने । मलाई लाग्छ, उनले आफ्नो पहिलो कृतिमार्फत नै पाठकलाई मोहित पार्नेछन् ।’
सानैदेखि पढ्न मन पराउने, पढेका कुरा जस्तैगरी आफूले अनुभूत गरेका कुराहरू लेख्न मन पराउने बानीले आफूलाई साहित्यतर्फ आकर्षित गरेको लेखक बडालले बताए । ‘मेरा लागि यो पहिलो पुस्तक विमोचन सपनाको सोपानको पहिलो खुट्किलो हो,’ उनले भने ।
अरु पढैयाहरू झैं आफ्नो बाल्यकाल पनि खाजा खान दिइएको पैसा पुस्तक र बालपत्रिकामा खर्च गरेर बितेको उनले सुनाए । ‘कतै भेटेका किताब जम्मा गरेर घरमा थुपार्दै बित्यो । अध्ययन-अध्यापन फरक विषयमा हुँदै गर्दा पनि साहित्यले कसिलो गरी अँगाली रह्यो,’ उनले भने, ‘यो यस्तो कसिलो प्रेम रहेछ कि मैले कसैगरी यसबाट आफूलाई पर राख्नै सकिनँ ।’
प्रतिक्रिया 4