
१७ फागुन, काठमाडौं । इरानले अमेरिका र युरेपेली मुलुकसँग सन् २०१५ को न्युक्लियर सम्झौतामा फर्किने अनौपचारिक वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । इरानले वार्ताभन्दा पहिला अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने अडान राखेको छ । इरानको विदेशमन्त्रालयका प्रवक्ता सइद खातिब्जादेहले पछिल्लो केही समययता अमेरिका र ईयूले जारी गरेको विज्ञप्ति र कदमको आधारमा यो वार्ताको लागि उपयुक्त समय नरहेको देखिएको बताएका छन् ।
इरानले वार्ता अस्वीकार गरेको विषयलाई अमेरिकाले भने यसलाई दु:खद् रहेको बताएको छ । यद्यपि अर्थपूर्णरुपमा कूटनीतिक पहलबाट उक्त न्युक्लियर सम्झौताको प्रतिबद्धता पालना हुने अमेरिकाले बताएको छ ।
यसअघि इरानी अधिकारीहरुले ईयूले सन् २०१५ को न्युक्लियर सम्झौतामा फर्किनका लागि अनौपचारिक वार्ताको प्रस्ताव गरेको बताएका थिए । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए । त्यसयता अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउँदै आएको छ । इरानले न्युक्लियर सम्झौतामा फर्किन सबैभन्दा पहिला अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने माग राख्दै आएको छ ।
अमेरिकाले भने इरानले उक्त सम्झौताको शर्त पालना गरेमात्र प्रतिबन्ध हटाउन सकिने बताएको छ ।
प्रतिक्रिया 4