Comments Add Comment

धुलिखेलमा कार रेसिङ खेलमा दुर्घटना हुँदा युवकको मृत्यु

कार रेसिङ दुर्घटनाअघि र पछि ।

१७ फागुन, काठमाडौं । शाहसिक र मनोरञ्जनात्मक भनेर खेलाइएको कार रेसिङमा दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं बौद्ध तिनचुलीका १६ वर्षीय तेञ्जी सेञ्जिङ छन् ।

दुर्घटनामा किशोरको मृत्यु भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख भुपेन्द्रबहादुर खत्री पनि धुलिखेल नगरपालिकाको बिकट क्षेत्रमा रहेको अल्टिमेट हिमालय मोटरल्याण्डमा पुगेका थिए ।

‘घटना शनिबारको हो, उद्दार गरेर उपचारका लागि धुलिखेल अस्पताल लगिएको रहेछ’, खत्रीले अनलाइनखबरसँग भने, ‘आगोमा जलेको भएर कीर्तिपुर अस्पताल रिफर भयो, त्यहीँ उपचारका क्रममा मृत्यु भएको पाइएको छ ।’

मृतकका मामा घिङ ग्याम्जोका अनुसार कक्षा ९ मा पढ्दै आएका उनी शनिबार साथीहरुसँग धुलिखेल गएका थिए । ‘त्यहाँ कार कुदाउँदै गर्दा स्टलमा ठोक्किएछ, त्यसपछि आगलागी हुँदा घटना भएको भनिएको छ’, उनले अनलाइनखबरसँग भने, ‘कम्पनीले खेल खेलाउँदा व्यक्तिगत सुरक्षाका लागि पालना गर्नुपर्ने सर्तहरु नमान्दा यस्तो भएको हो ।’

उनले घटनामा सञ्चालकको लापरबाही देखिएको बताउँदै कानुन बमोजिम कारबाहीको मागसमेत गरे । कम्पनीका सञ्चालकहरुले भने प्रहरी सोधपुछका क्रममा कार रोक्नुपर्ने ठाउँमा संकेत गर्दागर्दै पनि मृतकले नरोकेकाले घटना भएको दाबी गरेका छन् । ‘नरोकिएपछि स्टलमा गएर ठोक्कियो, त्यहाँ कारको पेट्रोल लिकेज भएर आगलागी भएको हो’, सञ्चालकको भनाइ उधृत गर्दै एक प्रहरी अधिकारीले भने ।

परिवारले भने सञ्चालकको भनाइलाई विश्वास गरेको छैन । मामा ग्याम्जो भन्छन्, ‘मैले गाडी पनि हेरेको छु, त्यहाँ पेट्रोलको ट्यांकीमा केही भएको छैन ।’ बरु स्टलमा पेट्रोल भण्डारण गरेर राखिएको हुनसक्ने र त्यही कारण आगजनी भएको अनुमान आफूहरुले गरेको उनी सुनाउँछन् ।

मोटरल्याण्डलाई राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको अटो मोबाइल एसोसिएसनले सञ्चालनको अनुमति दिएको हो । तर, एसोसिएसनले खेलको सुरक्षा मापदण्डबारे अनुगमन नगरेकाले पनि घटना भएको परिवारका सदस्यको आरोप छ ।

‘खेल खेलाउने बेला जम्मा दुई जना इञ्जिनियर रहेछन्, तत्कालै फायर एस्टिङ्ग्वीसर लिएर उद्दार गरेको भए पनि अप्रिय घटना नहुन सक्थ्यो’, ग्याम्जोले भने, ‘तर, कोही उद्दार गर्न गएनन्, ८० प्रतिशत जलिसकेपछि बाबु आफैं कसरी निस्किएछ र अस्पताल पुर्‍याइयो ।’

काभ्रेका एसपी खत्रीले भने घटनाको विषयमा प्रहरी जाँच जारी रहेको बताए । कम्पनी १५ मिनेट कार सञ्चालनका लागि प्रतिव्यक्ति ७५० रुपैयाँ लिने गरेको पाइएको छ । कम्पनीले आफूलाई नेपालको पहिलो कार रेसिङ खेलाउने स्थानको रुपमा दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment