Comments Add Comment

म्यानमारमा सुकीमाथि चलाइयो नयाँ मुद्दा

१७ फागुन, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध नयाँ मुद्दा चलाइएको छ । सोमबार भिडियो लिंकमार्फत् अदालतमा उपस्थित भएकी सुकीलाई अतिरिक्त फौजदारी मुद्दा लगाइएको हो । म्यानमारमा सेनाले गरेको कूको विरुद्धमा निरन्तर आन्दोलन भइरहेको अवस्थामा प्रजातन्त्रवादी नेतृमाथि अतिरिक्त मुद्दा चलाइएको हो । यसअघि सोमबार म्यानमारमा भएको आन्दोलनमा प्रहरीको गोली लागी १८ प्रदर्शनकारीको ज्यान गएको थियो ।

सुकीका वकिल मिङ मिङले दिएको जानकारीअनुसार सुकी राजधानीस्थित एक अदालतमा भिडियो लिंकमार्फत् उपस्थित भएकी र उनी स्वस्थ देखिएकी बताएका छन् । गत फब्रुअरी १ मा हिरासतमा लिइएपछि सुकी सार्वजनिक रुपमा देखिएकी छैनन् । यसअघि उनीमाथि अवैधरुपमा ओकेटोके राखेको र त्यसबाट सञ्चार गर्ने गरेको र प्राकृतिक विपत्तिको नियम उल्लंघन गर्दै कोरोना भाइरसको महामारीमा र्‍याली बोलाएको मुद्दा चलाइएको थियो । सोमबार उनीमाथि तेस्रो मुद्दा चलाइएको हो ।

सुकीको मुद्दामा मार्च ५ मा अर्को सुनुवाई हुनेछ । सुकीका अर्का वकिलले सुनुवाईअघि सम्म वकिललाई पनि सुकीसँग बोल्न नदिइने गरेको बताएका छन् । फेब्रुअरी १ मा सेनाले कू गरेयता म्यानमारको अवस्था तनावपूर्ण रहँदै आएको छ । म्यानमारका जनताहरुले प्रजातन्त्रको पुनर्बहालीको माग राख्दै निरन्तर प्रदर्शन गरिरहेका छन् । सेनाले भने मुलुकमा प्रजातन्त्रको रक्षाको लागि यो कदम चाल्नुपरेको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment