Comments Add Comment

बास्तोला मृत्यु प्रकरणमा १ लाख धरौटी बुझाएर छुटे घरबेटी

१७ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका– ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका रमेश गिरीलाई जिल्ला अदालत मोरङले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

सोमबार थुनछेक बहसपछि उर्लाबारी– ६ का ६० वर्षीय गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । गिरी प्रवीणको मृत्यु भएको घरका घरधनी हुन् ।

हत्या आरोपमा मंगलबार गिरीसहित ६ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दायर भएको थियो । आइतबार पक्राउ परेका गिरीलाई सोमबार न्यायाधीश सुदर्शन लामिछानेको इजलासले थुनछेक बहसपछि एकलाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा गरी बस्ने साथीहरुको कोठामा ४ पुसमा पुगेका प्रवीणको शंकास्पद मृत्यु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीसँग डेरामा बसेका साथीहरुले हत्या गरेको दाबीसहित घरबेटी गिरी, मृत्युको अघिल्लो रात प्रवीण र उनका साथीहरुले सँगै मदिरा सेवन गरेको सौरभ होटल सञ्चालक कुमार राईसहित ६ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरेको थियो ।

गत बिहीबार न्यायाधीश लामिछानेको इजलासले रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीनलाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

होटलमा बास्तोलासँगै बसेका उर्लाबारीका ३१ वर्षीय राजेश रणपहेली, मोरङ कानेपोखरीका २१ वर्षीय सुदीप परियार र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल भने फरार छन् । फरार तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । मेहरमान, सुदीप र दीपेश, गिरीको घरमा डेरा बस्थे । उनीहरुको कोठामा प्रवीण र रणपहेलीको आउजाउ भइरहन्थ्यो ।

४ पुसमा खानपिनका क्रममा सौरभ होटलका सञ्चालक कुमार राईसँग प्रवीणको विवाद भएको थियो । त्यसपछि प्रवीण साथीहरुसँगै डेरामा पुगेर एउटै कोठामा सुतेका थिए ।

प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै आफन्त र स्थानीयबासीको आन्दोलनमा उत्रिएपछि मंगलबार प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो ।

दर्जीसहित फरार रहेका प्रतिवादीहरु प्रहरीले पक्राउ गरी २५ दिन हिरासतमा राखेर छाडेका व्यक्ति हुन् । गत माघ २ गते हाजिर जमानीमा छुटेकाहरु भागेपछि प्रहरीले चारजनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment