Comments Add Comment

अनधिकृत निकासी रोक्न माग गर्दै ज्ञापन पत्र

१८ फागुन, बुटवल । भन्सार नाकाहरुबाट अनधिकृत रुपमा उद्योगका कच्चा पदार्थको निकासी बढेको भन्दै रुपन्देही उद्योग संघले सम्बन्धित कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको छ । गैरकानुनी ढंगबाट निकासी बढेका कारण नेपाली ‘रिसाइक्लिन’ उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै संघले जिल्ला प्रशासन र भन्सार कार्यालयको ध्यानाकर्षण गराएको हो ।

हाल भन्सारबाट पुराना टायर, प्लाष्टिक, फलाम तथा कागज लगायतका कवाडी सामानहरु तस्करीमार्फत भारततर्फ निकासी भइरहेकाले उद्योगहरुले कच्चा पदार्थको अभाव खेप्नु परेको संघले उल्लेख गरेको छ ।

डेलिगेसन टोलीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, बेलहिया भन्सार कार्यालयका प्रमुख मनिराम पौडेल र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलसँग भेट गरी अवैध निकासी नियन्त्रण गर्न माग गरेको छ ।

उद्योगीहरुले खेप्नु परिरहेका समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरिएको संघका अध्यक्ष बाबुराम बोहोराले बताए । स्वदेशी उद्योगको संरक्षण, रोजगारी अभिवृद्धि र आर्थिक विकासका लागि खुल्ला भन्सार बाधक बनेको भन्दै बोहोराले गैरकानुनी क्रियाकलाप तत्काल रोक्नुपर्ने बताए ।

ज्ञापनपत्र बुझेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरे र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी पाठकले मातहतका सबै निकायहरुलाई तत्काल निर्देशन जारी गर्ने र उद्योगहरुको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

भन्सार कार्यालयका प्रमुख पौडेलले गैरकानुनी निकासीमा संलग्नको पहिचान गरी कारवाहीको दायरामा उभ्याइने प्रतिवद्धता व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment