
२० फागुन, काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सिन्धुली जाँदैछन् ।
सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली बिहान ११ बजे सिन्धुली प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीको साथमा राष्ट्रिय योजना आयोगका पदाधिकारी र मन्त्रीहरुसमेत सहभागी हुने बताए । शिलान्यासस्थल सदरमुकाम सिन्धुलीमाडीबाट ११ किलोमिटर टाढा पर्दछ ।
आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
राष्ट्रिय गौरवको यो आयोजना मुख्य रूपमा सिँचाइमा केन्द्रित छ । पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।
यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पुर्याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको दाबी छ ।
करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ । यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।
तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ । मरिनको पानी वागमतीमा पुग्नेछ र वागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।
मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।
प्रतिक्रिया 4