Comments Add Comment

स्वतन्त्रतामा नेपाल दक्षिण एसियामा तेस्रो

२० फागुन, काठमाडौं । नेपाल राजनीतिक तथा नागरिक स्वतन्त्रताको मामिलामा दक्षिण एसियाली मुलुकमा तेस्रो स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । फ्रिडम हाउस नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले समग्रमा ५६ अंक पाएको छ । दक्षिण एसियामा नेपालभन्दा बढी स्वतन्त्रता भएका मुलुकमा भारत ६७ अंकसहित पहिलो स्थानमा छ भने भुटानको ६१ अंक छ । नेपाल र श्रीलंकाको समान अंक छ ।

दक्षिण एसियामा अफगानिस्तानको सबैभन्दा कम २७ अंक छ । पाकिस्तानले ३७, बंगलादेशले ३९ र माल्दिभ्सले ४० अंक पाएका छन् । नेपालले राजनीतिक स्वतन्त्रतातर्फ २५ र नागरिक स्वतन्त्रतातर्फ ३१ अंक पाएको छ ।

फ्रिडम हाउसले विश्वका विभिन्न २१० मुलुकमा गरेको अध्ययनबाट यो प्रतिवेदन तयार पारेको हो । त्यसका लागि विभिन्न माध्यमको प्रयोग गरी सम्बधित मुलुकको राजनीतिक तथा नागरिक स्वतन्त्रताको विषयमा अध्ययन गरिएको थियो ।

भारत पूर्ण स्वतन्त्रता भएको मुलुकबाट खस्कियो

भारत यस वर्ष पूर्ण स्वतन्त्रता भएको मुलुकबाट खस्किएको छ । पछिल्लो केही वर्षयता भारतले स्वतन्त्रताबारे पाएको अंक पनि निरन्तर घट्दै गएको छ । पछिल्लो चार वर्षमा भारतले राजनीतिक र नागरिक स्वतन्त्रताबारे पाएको अंक ७७ बाट घटेर ६७ मा आइपुगेको छ ।

फ्रिडम हाउसले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका २० प्रतिशतभन्दा कम जनसंख्या अहिले पूर्ण स्वतन्त्रता भएको मुलुकमा बसोबास गर्छन् । यो १९९५ यताकै सबैभन्दा कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment