Comments Add Comment

सिंहदरबारमा शंकर पोखरेल र घनश्याम भुसालबीच भेटवार्ता

२० फागुन, काठमाडौं । दुई खेमामा विभाजित नेकपाको शीर्ष नेताहरुबीच सम्वाद टुटेका बेला ओली समूहमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भेट्न सिंहदरबार पुगे ।

संसद सचिवालयको एउटा कोठामा दुई नेताबीच झण्डै पौने घण्टा कुराकानी भएको छ । नेकपाको एकता जोगाउनुपर्छ भन्ने मत राख्ने दुई नेताले एकअर्कालाई ‘भेटौं, कुराकानी गरौैं’ भन्दै आएका थिए । मुख्यमन्त्री पोखरेल बिहीबार नै बुटवल फर्किने तयारी थिए । त्यसअघि भुसाललाई भेटेका हुन् ।

स्रोतका अनुसार भेटमा दुबै नेताले पार्टी एकता जोगाउन मुश्किल भएको चिन्ता व्यक्त गरेका छन् । पार्टी एकता जोगाउनुपर्छ भन्नेमा पनि दुबैको समान धारणा छ ।

तर कसरी भन्नेमा सहमति छैन । भुसाल निकट एक नेताका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बल्ल पार्टी एकता जोगाउन उपायबारे छलफल गर्न सकिने धारणा राख्दै आएका छन् ।

तर पोखरेलले राजीनामाबारे बोलेका छैनन् ।

ओली समूहका नेता पोखरेलसँग भएको भेटबारे सोध्दा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य भुसालले नियमित भेटघाट भएको प्रतिक्रिया दिएका छन् । ‘संसद विघटन भएपछि जोसँग भेट हुन्छ, ब्यूँताउनुपर्छ भनेर छलफल गरेको थिएँ’ उनले भने, ‘अहिले पनि विकल्प सोच्न तयार हुनुस् भन्ने गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment