Comments Add Comment

नेकपा संसदीय दलमा कसको बहुमत ?

११५ पुर्‍याएको प्रचण्ड-माधवसमूहको दाबी

प्रचण्ड-माधव समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी सांसदहरु

२१ फागुन, काठमाडौं । शुक्रबार नेकपा प्रचण्ड-माधव समूहले बोलाएको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गर्‍यो ।
बैठकपछि दलका नेता प्रचण्डले आफूहरुको पक्षमा ११५ जना सांसद रहेको दावी गरे ।

जबकी शुक्रबारको बैठकमा १०७ जनाले मात्र उपस्थितिमा हस्ताक्षर गरेका छन् ।

यद्यपि नेताहरु ९१ जना प्रतिनिधिसभा सदस्य र २४ जना राष्ट्रिय सभा सदस्य आफूहरुको पक्षमा रहेको दावी गरेको छ । शुक्रबारको बैठकमा कृष्णबहादुर महरा, योगेश भट्टराईसहित ७ जना उपस्थित हुन नसकेको उनीहरु बताउँछन् ।

प्रचण्ड-माधव समूहले दलको नेता चयन गरेको भोलिपल्ट शनिबार नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । यो समूहले कति सांसद जुटाउँछ भन्ने हेर्न बाँकी छ ।

बहुमतका लागि १११ आवश्यक

नेकपाको प्रतिनिधिसभामा १७४ र राष्ट्रिय सभामा ५० जना गरी कुल २२४ जना सांसद हुन् । उनीहरुमध्ये प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन भएको छ र उनको ठाउँमा कोही चयन भएको छैन ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पनि मत दिन पाउँदैनन् । त्यसैले नेकपा संसदीय दलमा २२१ जनाले मतदान गर्न पाउँछन् र बहुमत पुर्‍याउन १११ जना सांसद चाहिन्छ ।

बामदेव गौतम कता ?

नेकपा दुई समूहमा विभाजित हुँदा उपाध्यक्ष बामदेव गौतम कुनै पक्षतिर लागेका छैनन् । उनी राष्ट्रियसभा सदस्य छन् भने उनकी पत्नी तुलसा थापा प्रतिनिधिसभा सदस्य छिन् ।

गौतम दम्पतिजस्तै प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित पनि कुनै पक्षमा खुलेेका छैनन् । ‘म पार्टी एक हुनुपर्छ भन्नेमा छु’ उनले अनलाइनखबरसँग भने, ‘कुनै पक्षको संसदीय दल वा बैठकमा जान्न । संसदभित्र आफ्नो भूमिका निभाउँछु ।’

नेताहरुका अनुसार संसदीय दलमा मतविभाजन हुने अवस्था आए उनीहरुको मत महत्वपूर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment