Comments Add Comment

नागरिकताको प्रतिलिपि लिनेको भिड

२४ फागुन, डोटी । शिखर नगरपालिका-२ की ६० वर्षीया तुली बोगटी आइतबार बिहानै जिल्ला प्रशासन कार्यालय डोटी पुगिन् । उनलाई नेपाली नागरिकताको प्रतिलिपि लिनु पर्ने थियो ।

गाउँमा नागरिकता प्रमाण पत्र वितरण टोली गएका बेला उनले लिएको नागरिकता प्रमाण पत्रमा भएको फोटो प्रष्ट नभएपछि उनी प्रतिलिपि लिन आइपुगेकी हुन् । छिट्टै प्रतिलिपि लिएर फर्किने भन्दै हतार पतारमा आएकी उनले साँझ अबेरसम्म कुर्नु पर्‍यो ।

तुलीसँगै आएकी माता बोहराको पनि अवस्था त्यस्तै थियो । नागरिकता प्रमाण पत्रमा भएको फोटोमा दुई कान राम्रोसँग नदेखिएकाले उनी नयाँ फोटो राखेर प्रतिलिपि लिन आएकी थिइन् ।

आइतबार नागरिकताको प्रतिलिपि लिने आएकाहरुले जिल्ला प्रशासन कार्यालय खचाखच भरिएको थियो । सो दिनमात्रै १३० जनाले नेपाली नागरिकताको प्रतिलिपि लिएको कार्यालयका कम्प्युटर अपरेटर गौतमबहादुर रोकायाले जानकारी दिए । उनका अनुसार आइतबार नयाँ नागरिकता लिने भने १७ जना मात्रै थिए ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जिल्लाको शिखर नगरपालिकामा सञ्चालन गरेको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने कार्यका लागि नागरिकताको प्रतिलिपि लिनेको भिड बढेको बताउँछन् जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी मधुकृष्ण पौडेल।

‘पहिले गाउँतिर नागरिकता वितरण टोली जाँदा बनेका नागरिकतामा त्रुटि भएको रहेछ,’ प्रशासकीय अधिकृतसमेत रहेका पौडेलले भने, ‘ती त्रुटिहरु सच्याएर नागरिकताको प्रतिलिपि लिने सेवाग्राहीको भिड बढेको छ ।’ कसैको फोटो राम्रोसँग नदेखिने, कसैको नाम बिग्रेकोले परिचय पत्रका लागि विवरण गर्दा समस्या भएको उनी बताउँछन् ।

उनले विवरण संकलन गर्दा नागरिकता स्क्यान गर्नु पर्ने तर कसैका नागरिकता च्यातिएका, कसैकोमा फोटो राम्रो नभएको, प्रष्ट नदेखिने, कसैकोमा विवरणसमेत फरक परेका कारण प्रतिलिपि लिनु पर्ने अवस्था आएको बताए ।

उनी थप्छन् ‘आइतबार दिनभरी हाम्रो काम प्रतिलिपि बनाउनमै बित्यो ।’ कर्मचारी कम हुनु र सेवाग्राही धेरै आउनुले पनि कार्यालयमा बढी भिड देखिएको उनी वताउँछन् ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको आएको टोली डडेल्धुराबाट काम सकेर डोटीको शिखर नगरपालिकाबाट विवरण दर्ता कार्य सुरु गरेको पौडेलले बताए । उनले थपे, ‘अब अछाममा भएको टोली आएपछि अर्को स्थानीय तहमा पठाउनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment